अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको पहिलो सम्मेलन बिहीबार पोखरामा हुँदै छ ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन क्रान्तिकारीले संविधान दिवसको अवसर पारेर प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो । प्रदेशका ११ जिल्लाभरका ८५ पालिकाबाट प्रतिनिधित्व हुनेगरी करिब चार सय जनाको सम्मेलनमा सहभागिता रहने संयोजक गीता शाही ‘शशि’ले जानकारी दिइन्।
सम्मेलनले पदाधिकारी, सदस्यसहितको नयाँ कार्यसमिति गठन चुन्ने छ । शाहीले भनिन्, ‘नेपाल महिला संघ (क्रान्तिकारी) वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र सामाजिक न्यासहितको महिलामुक्ति आन्दोलनको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा संगठनलाई अझ व्यापक र व्यवस्थित बनाउन चाहन्छ ।’
‘स्वतन्त्रता, समानता र न्याय प्राप्तिका लागि भएका सम्पूर्ण लोकतान्त्रिक तथा सामाजिक आन्दोलनहरुमा क्रान्तिकारी महिलाहरु अग्रमोर्चाहरुमा छन्’, शाहीले थपिन्, ‘संगठनको स्थापना कालदेखि नै राष्ट्रियता जनतन्त्र, जनजिविकालगायत सबै जाति, पेशा एवं समुदायको न्यायप्रेमी जनताको अन्दोलनमा एक्यबद्धता जनाउँदै क्रान्तिकारी महिलाहरुले पितृसत्तात्मक उत्पीडन, सामन्तवाद, साम्राज्यवाद नवउदारवादका विरोधमा, वैज्ञानिक समाजवादका पक्षमा नेपाली महिलाहरुलाई आन्दोलित र संगठित गर्दै आगामी दिनहरुमा अघि बढ्ने संगठनले लक्ष लिएको छ ।’
नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न, समाजवादी क्रान्तिको लक्ष्य अंगिकार गर्न सम्मेलनले क्रान्तिकारी महिलाहरुलाई आमूल परिवर्तनको दिशामा अघि बढाउने शाहीले उल्लेख गरिन् । ‘महिला मुक्ति र आमूल परिवर्तनको निम्ति क्रान्तिकारी महिला आन्दोलन, समाजवाद प्राप्तिका लागि गण्डकी प्रदेशको प्रथम सम्मेलन’ संगठनले सम्मेलनका लागि मूल नारा तय गरेको छ ।
नेकपा माओवादी (केन्द्र) की उपाध्यक्ष नेतृ पम्फा भुषालले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ ।





