डागर स्मृति पुरस्कार २०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहमा पुरस्कार प्रदान गरेको हो ।
२० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरियो । कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ जे की डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थापक अध्यक्ष हिरा बास्तोला, अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।
डिस्ट्रिक्ट गभर्नर थापाले हरेकको जीवनमा संघर्षका कथा हुने र ती कथाभित्र लुकेका व्यथालाई भुलेर समाजका जागरुक प्रतिभालाई प्रोत्साहित गर्नुपर्ने बताइन् । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पोखरेलले डागरलाई व्यवहारिक जीवनका समस्यालाई समस्या नठानेर सदावहार उर्जाका साथ प्रस्तुत हुने प्रतिभाका रूपमा चित्रण गरे ।
पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ले जीवन जीउने तरिका रमा पराशरबाट सिक्नुपर्ने धारणा राखे । लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष अर्चना कर्मचार्यले प्रतिष्ठानको कोषको स्तरोन्नतिका लागि १० हजार प्रदान गरिन् ।
समारोहमा समाजसेवी विद्यालक्ष्मी गुरुङले पनि प्रतिष्ठानको अक्षयकोषका लागि १५ हजार आर्थिक सहयोग गरेकी छन् । पुरस्कृत पाइलट राणाले पुरस्कारले आफूलाई प्रोत्साहन मिलेको बताए । उनले आफूले प्राप्त गरेको पुरस्कार रकम विपन्न समुदायका लागि सहयोग गर्दै आएको जानकारी गराए ।
प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका दीक्षान्तले सन् २०१९ बाट व्यावसायिक जीवन सुरू भएको जानकारी दिए ।
प्रतिष्ठानकी संस्थापक संरक्षक रमा पराशरले आफूले एकल रूपमा स्मरण गर्दै आएको स्मृति दिवसलाई संस्थागत तरिकाले अगाडि बढाउने सम्पूर्णप्रति आभार व्यक्त गरिन् । उनले थपिन्, ‘ प्रतिष्ठान पैसाभन्दा प्रोत्साहनमा विश्वास गर्ने भएकाले पछिल्लो समय प्रतिभावान् युवालाई प्रोत्साहित गर्दै आएको छ ।’
प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, वातवारण, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा पुरस्कार अर्पण गर्दै आएको अध्यक्ष विन्दु श्रेष्ठले जानकारी दिइन् । यो पुरस्कारबाट यसअघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत भइसकेका छन् ।
अध्यक्षमा विन्दुकै निरन्तरता
प्रतिष्ठानको चौथो अधिवेशन तथा नवौं साधारण सभाले आगामी कार्यकालका लागि बिन्दु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सरिता तिम्सना पगेनी, सचिवमा असफल गौतम, कोषाध्यक्षमा पुष्पकुमारी आचार्य, सहसचिवमा फडिन्द्र अकिञ्चन, सदस्यमा दीपेन्द्र श्रेष्ठ, ठाकुर पन्त, अर्जना कर्मचार्य, आभा श्रेष्ठ र पदेन सदस्यमा लायन्स क्लब अफ पोखरा समर्पणका लायन वर्ष २४÷२५ का अध्यक्ष अर्चना कर्मचार्य छन् ।
सभामा प्रतिष्ठानका सचिव असफल गौतमले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।





