राष्ट्र न्यूज डट कमका सम्पादक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । पोखरा यातायात प्रालि कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रालिको छौटौं वार्षिक साधारसभामा उनलाई सम्मान गरिएको हो ।
सडक यातायातसँग सम्वन्धित समाचार पत्रकारिताको विभिन्न माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालासम्म सम्प्रेषण गरेकोमा सापकोटालाई २५ हजार र सम्मान पत्रसहित सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी संयोजक रहेको पत्रकार पुरस्कार छनोट उपसमितिले सापकोटालाई पुरस्कृति गर्न सिफारिस गरेको हो । सापकोटालाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले सम्मान गरे ।
२ दशकदेखि पत्रकारितामा सक्रिय अहिले राष्ट्र न्यूज डट कम र रेडियो हेमजामा आवद्ध छन् । सभाको अवसरमा असल चालकतर्फ ग१ख ३८८७ का चालक सूर्य रानाभाट, असल सहचालकतर्फ ग१ख ६९७१ का सहचालक कमल गुरुङ, पुराना व्यवसायीबाट ग१ख ५२५३ र ग १ ख ३९८९ का सवारीधनी भेषबहादुर कुँवर र कर्मचारीतर्फ ध्रुव पुलामीमगर सम्मानित बने ।
कक्षा १२ मा उत्कृष्ट हुने सेयर सदस्यका छोराछोरीतर्फ ग१ख ६९५१ की माया विककी छोरी सोनिया र कर्मचारीतर्फ लेखा प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनवकुमार सम्मानित बने ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले निजी क्षेत्रले गरेको लगानीलाई नेपाल सरकारले नजरअन्दाज गर्न नहुने जनाए । वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीलाई विना योजना प्रालिमा जान वाध्य बनाइएको आरोप लगाए ।
सम्मानित पत्रकार सापकोटाले पुरस्कारले पत्रकारलाई काम गर्न थप ऊर्जा जनाए ।
पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पोखरा यातायात प्रालिका सल्लाहकर वसन्तकुमार प्रधान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश सचिव तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्की अध्यक्ष कृष्णप्रसाद ढुंगाना, नेपाल यातायात मजदुर संघ गण्डकी अध्यक्ष विष्णु खत्री, पोखरा यातायात प्रालिका प्रवन्ध निर्देशक देवीप्रसाद कुइकेल र कम्पनी सचिव जीवनप्रसाद पौडेलले बोलेका थिए ।




