विभिन्न व्यक्तिसँग कलाकार भिसामा युरोप पठाउने भनी ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भनिने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।
ललितपुर २४, धापाखेल घर भई हाल काठमाडौं बस्ने ४० वर्षीय सूर्यमान शङ्करलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भनी ठठी गरेको बताए ।
विदेश लैजान्छु भनी इकुले प्रति व्यक्ति १५ देखि २० लाख रुपियाँ रकम जम्मा गर्न लगाएका थिए । भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्टलगायतका कागजातसमेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमका लागि तयारी हुँदैछ भनेर लामो समयसम्म झुलाई पछि पीडितहरुसँग सम्पर्कविहीन बन्ने गरेको प्रहरीले जनाएको छ




