अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन् ।

केही पदमा सर्वसम्मत भए पनि अध्यक्षसहित अधिकांश पदमा दुई प्यानल बनाएर चुनाव भएको थियो । उपमहासचिव वर्षमान पुननिकट मानिएको समूह विजयी हुँदा अर्का उपमहासचिव जनार्दन शर्मा निकट प्यानलै पराजित भएको छ ।

यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि मंगलबार बिहान मतपरिणाम सार्वजनिक भएको हो । गुरुङ एक सय ३७ मतसहित विजयी हुँदा प्रत्याशी रामकृष्ण भट्टले ७१ मत पाए ।

खुला उपाध्यक्षमा वसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा) र अशोक मरहठ्ठा (गोरखा) विजयी बने । समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध भए ।

प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित भए । महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बागलुङ) निर्विरोध बनेको निर्वाचन समिति संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिइन् ।

क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय छ । सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिए । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदीप पराजुली थिए ।