गण्डकी प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लाका मोबाइल व्यवसायीले २६ गते बुधबार र २७ गते बिहीबार सामसुङ कम्पनीको मोबाइल बिक्री नगर्ने भएका छन् । नेपाल मोबाइल व्यवसायी महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै गण्डकी व्यवसायीले सामसुङलाई पसलको डिस्प्लेबाट हटाउने र बिक्री नगर्ने निर्णय लिएका हुन् ।
नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी र पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले मंगलबार यस्तो निर्णय गरेका हुन् । महासंघ गण्डकी अध्यक्ष उदय केसी (लाहुरे दाइ) र पोखराका अध्यक्ष नारायण सुवेदीले केन्द्रको आह्वानअनुरुप व्यवसायीहरु आन्दोलनमा गएको जनाए ।
गण्डकीका व्यवसायीले २८ र २९ गते सामसुङका प्रमोटरलाई फिर्ता पठाउने भएका छन् । पोखराका अध्यक्ष नारायण सुवेदीले भने, ‘संवादको ढोका खुला राख्दै केन्द्रको आह्वानअनुसार आन्दोलनमा उत्रिएका छौँ । चार दिनको आन्दोलनसम्म पनि माग सम्बोधन नभए थप कडा कदम चाल्न बाध्य हुनेछौँ ।’
यही भदौ २० गते धनगढीमा आयोजना भएको सामसुङ रिटेल मिटमा व्यवसायी र सामसुङ नेपालबिच विवाद भएको थियो । व्यवसायीले सामसुङका सेटहरु बिक्री गर्दा आएका समस्या राख्न खोज्दा कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको आरोप लगाएका छन् । विवादपछि व्यवसायीहरु कार्यक्रम छाडेर हिडेका थिए ।
व्यवसायीहरुले सामसुङ कम्पनीले सो ब्रान्डमा मोबाइल बिक्री गर्दा बिक्रेतालाई दिने कमिसन बढाउनुपर्ने माग गरेका छन् । महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले संवादबाट समस्या सुल्झाउन पहल गरे पनि सामसुङ नेपालले बेवास्ता गरेको आरोप लगाए ।




