गीतः कहिले सुख पायो र खै बाको जिन्दगीले

ती दु:खका दिनहरू सम्झिदै छु अहिले
कहिले सुख पायो र खै बाको जिन्दगीले

बाले कति भारी बोके नाम्लोलाई सोध
भारी कति गरुङ्गो थ्यो बरियोलाई सोध
सोध सोध निदारको थाप्लोलाई सोध
बालाई सोध्न पर्दैन भो करङलाई सोध ।

ती दु:खका दिनहरू सम्झिदै छु अहिले
कहिले सुख पायो र खै बाको जिन्दगीले ।

जुता देख्नै नपाएको खुट्टालाई सोध
पट्पटी फुटेका ती कुर्कुचालाई सोध
भल्भल्ती रगत बग्ने गोलेनीलाई सोध
सोध्नै मन छ यदि भने पैतालालाई सोध ।

ती दु:खका दिनहरु सम्झिदै छु अहिले
कहिले सुख पायो र खै बाको जिन्दगीले
सुरज उपाध्याय ।