जेसिआई नेपाल बिजनेस एकेडेमीमा ६२ जनालाई प्रशिक्षण

जेसीआई पोखराको आतिथ्यतामा भदौ ७ देखी १० गतेसम्म पोखरामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) आयोजना गरिएको छ । कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिक रणनीति निर्माण र उद्यमशीलता विकासमा सघाएको आयोजकको दाबी छ ।

४ दिनको आवासीय कार्यक्रम सुरुआत गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैनसहित बुटवल जेसीजका पूर्व अध्यक्ष राजीव गौतमले देशभरीबाट सहभागी ६२ प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए ।

पोखराका प्रतिष्ठित ब्यवसायी गणेशबहादुर भट्टराई तथा प्रकाशदेव पालिखेले ‘फायर साइड टक’मार्फत व्यावसायिक चुनौती र सम्भावनाबारे छलफल गरेका थिए । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरु रारा चाउचाउको उत्पादक गण्डकी नुडल्स, भिजन नेपाल, हिमालयन लाइफ लगाएतका १० बिभिन्न व्यावसायी र प्रशिक्षार्थीबिच ‘बिजनेस एक्सचेन्ज मिट’समेत भएको थियो ।

कार्यक्रम समग्र नेपाल जेसीजका लागि फरक ब्रान्ड स्थापित गर्न सक्षम बनेको कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीजका पूर्व अध्यक्ष किरण केसीले दाबी गरे । पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले पोखरा जेसीजले स्वर्ण वर्ष प्रवेश गरेको अवसरमा वर्षभरी बिभिन्न कार्यक्रम गरी मनाउने लक्ष्य राखेकोमा यस कार्यक्रमले आवश्यकता अनुरुप युवाको क्षमता विकास गर्ने विश्वास गरिएको छ ।

कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन पोख्रेलको अध्यक्षतामा भएको हो । नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम बिजनेस एकेडेमीलाई सफल आतिथ्यता गरेको पोखरा जेसीज सन् १९७५मा स्थापना भएको हो । यसले स्थापना कालदेखि नै युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।