साढे ३ करोडमा बन्यो भवन, धर्मशालाबाट नयाँ भवनमा सर्दै प्रहरी

मुस्ताङको इलाका प्रहरी कार्यालय मुक्तिनाथले नयाँ भवन पाएको छ । गण्डकी प्रदेश सरकारको तीन करोड ६० लाख लगानीमा तीन तले भवन बनाइएको हो ।

बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा बनेको यो भवनसहितको कार्यालय परिसर साढे छ रोपनीमा छ । इलाका प्रहरी कार्यालय मुक्तिनाथ अहिले रानीपौवाको पुरानो धर्मशालाका चार कोठामा छ । अब एउटा कोठामा सानो युनिट राखी कार्यालय नयाँ भवनबाटै सञ्चालन हुने मुस्ताङका प्रहरी प्रमुख भोजराज पाण्डेयले बताए ।

बुधबार आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले मुक्तिनाथ आउने तीर्थालु, पर्यटक र स्थानीयको शान्ति, सुरक्षामा खटिन नयाँ भवन प्रहरीलाई सहज बनाउने उल्लेख गरे ।

प्रदेश सरकारले प्रहरीलाई अपेक्षाकृत सहयोग गर्न नसकेको स्वीकार्दै उनले प्रहरी समायोजना नहुँदा सकस परेको सुनाए । “संविधान अनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन सकेको छैन । समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षा अनुसार प्रहरीलाई सबै सहयोग गर्न सकिएको छैन,’ उनले भने । प्रदेशको शान्ति, सुरक्षाका लागि सरकारले सुरक्षा निकायहरुलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, उपकरणसहित क्षमता विकासमा सहयोग गर्दै उनले जनाए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण र जग्गा प्राप्तिका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद योगेश गौचन थकाली, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ध्रुव अधिकारी, बारगुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नमगेल गुरुङ लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।