अन्नपूर्णबाट २ स्पेनिस सम्पर्कविहीन

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट दुई स्पेनिस नागरिक सम्पर्कविहीन भएका छन् । उनीहरु उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबारबाट सम्पर्कमा छैनन् ।

एक्याप वीरेठाँटीमा आइतबार बिहान सवा १० बजे उनीहरुले नाम दर्ता गराएको पाइएको छ । एक्याप वीरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले ३७ वर्षीय पुरुष इरिक कासानोभास र ३० वर्षीया महिला मोलास जुन्का मेसीको नाम दर्ता रहेको जानकारी दिए ।

बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर हुन सक्ने आशंका गरिएको छ । झोला भेटिएको नजिकै सुन्दर छहरमा दुई वटा स्टिकसमेत भेटिएका छन् । सोमबार दिनभर खोजी गरे पनि उनीहरुको अवस्था पत्ता लाग्न सकेन ।

प्रहरी चौकी वीरेठाँटी इन्चार्ज कृष्ण दर्नालले मंगलबार पनि प्रहरी खोजीका लागि परिचालन भइसकेको जनाए । उनले भने, ‘आज पनि टोली परिचालन भइसकेको छ । आज पत्ता लाग्न नसके भोलि अर्काे टोली पनि मनाउँछौँ ।’