नारायण मरासिनीको ‘घैंटीको मूल्य’ बजारमा

कथाकार नारायण मरासिनीको ‘घैंटीको मूल्य’ कथा संग्रह मंगलबार सार्वजनिक भएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीलगायतले कृति सार्वजनिक गरेका हुन् ।

डा अधिकारीले कथाकार मरासिनीको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताए । कथाहरुको समीक्षा गर्दै रामराज रेग्मीले प्रगतिवादी आख्यानका क्षेत्रमा ‘घैंटीको मूल्य’ महत्वपूर्ण प्राप्ति भएको उल्लेख गरे । कथाकार मरासिनीले आफूले देखेभोगेको समाज तथा परिवेशलाई समेटेर कथाहरु तयार पारेको सुनाए । कृतिमा १४ कथा छन् ।

कार्यक्रममा संगमका सल्लाहकार रघुनाथ अधिकारी, साहित्य शृखला पोखराकी अध्यक्ष लक्ष्मी थापा, प्राध्यापक गेहेन्द्रेश्वर कोइराला, झलकपाणि तिवारी, धनबहादुर नेपाली, बाबुराम पन्त, परशुराम कोइराला, लोकबहादुर थापामगर, संगमका उपाध्यक्ष पद्मराज ढकाल, कोषाध्यक्ष विजया सुवेदी लगायतले बोलेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा भएको हो ।