
पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले आफूले पाएको तलव, सुविधाबाट सरकारी स्कुलमा अक्षयकोष बनाएका छन् । पोखरा–१७, महतगौंडाको जानकी माविमा उनले ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयको ४४ औं वार्षिकोत्सवमा उनले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने घोषणा गरेका थिए । त्यही घोषणा बमोजिम शिवरामले प्रधानाध्यापक अर्जुन कँडेललाई उक्त रकमको चेक बिहीबार हस्तान्तरण गरेका हुन् ।
आफूले पाएको दुई वर्षको सुविधामा रकम थप गरी आमा, बुवा धर्मदत्त र जमुनाको स्मृतिमा भण्डारीले अक्षयकोष बनाएका हुन् । वडा सदस्यको सुविधावापत दुई लाख ८८ हजार पाएको र बाँकी रकम व्यक्तिगत रुपमा थप गरेको उनले सुनाए ।

कार्यक्रममै अक्षयकोष सञ्चालन कार्यविधिसमेत स्कुललाई प्रदान गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयको दैनिक गतिविधि सञ्चालनमा प्रयोग हुनेछ । ‘सरकारी स्कुललाई विशेष माया र संरक्षण गर्नैपर्छ, प्रतिबद्धता बमोजिम अक्षयकोष स्थापना भएको छ, यसले थोरै भए पनि शिक्षण सिकाईलाई सहज बनाउने मेरो अपेक्षा छ,’ उनले भने ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष एवं वन समिति अध्यक्ष बिक्रम भण्डारीले ५० हजारका फर्निचर हस्तान्तरण गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ की अध्यक्ष राधिका शाही योगी, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी लगायतले बोलेका थिए ।