मैले किन पार्टी खोल्ने, मेरो पार्टी त यही हो

जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आइपुग्यौँ । यहाँसम्म हामीले गरेको आन्दोलनहरू, युद्धहरू, परिवर्तनहरू जो सहभागितामूलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई एउटा वैचारिक रूपमा अघि बढाउनु पर्दैन ? त्यस अरू १००/२०० वर्षसम्म अगाडि बढ्नु पर्दैन ? मैले त प्रचण्डलाई अरू २०० वर्ष बचाउने कुरा गर्दै छु, मेरो कुरा त्यो हो ।

अरू २०० वर्षसम्म प्रचण्ड बाँचून्, त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर ममाथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो । के प्रचण्डले जीवित हँुँदा मात्रै नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने ? तपाईं आफैँ रोज्नुहोस् । त्यसकारण तपाईंको भूमिका विचार निर्माणमा रहोस् । वैचारिक अथोरिटी लिनुहोस् । सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भनेको हो मैले । यो के अन्याय हो ? यो के उहाँप्रति अपमान हो ? यो के उहाँहरूलाई हटाएर म अध्यक्ष हुन खोजेको हो ?

मलाई चाहिएको छैन । मैले भनेको छु उहाँलाई । मलाई चाहिएको छैन । तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनु छैन । तर, यो पार्टी आन्दोलन बनाउने हो भने यो छलफल चाहिन्छ भनेर मैले पार्टीमा छलफल राखेको हो । प्रस्ताव राखेको हो । छलफल हुँदै छ । भूमिकामा र नेतृत्वलाई स्थापित गर्ने यदि नयाँ ढंगले जाँदैनौँ भने हामी सकिन्छौँ । हामी नसकिऔँ, हामी आन्दोलनलाई बचाऔँ भन्ने कुरा राख्दा मैले अनेक आरोप खप्नुपर्ने ? खपौँला, पार्टीका लागि खप्ने कुरा गरौँला ।

स्थायी कमिटीको बैठकबाट तीनवटा कुरा निर्णय भएका छन् । मैले उठाएका केही प्रश्नहरू थिए । मैले सार्वजनिक रूपमा त्यो भन्नैपर्ने हुन्छ । त्यो प्रश्नको बारेमा अध्ययन, अनुसन्धान गरेर अध्यक्ष कमरेडले स्पष्ट गर्ने भन्ने निर्णय भएको छ । मैले त्यसलाई ओके गरेको छु । समर्थन गरेको छु । पार्टी फुटको प्रचार भयो भनेर मैले जहाँ भनिरहेको छ, त्यही वरिपरिबाट, नेतृत्व वरिपरिबाट मेरो सिधा कुरा छ, त्यसमा उहाँको भूमिका कति छ छैन, उहाँले भन्नुहोला । त्यो कुराको खण्डन अध्यक्षले नै गर्नुपर्छ । म प्रत्येक पार्टी सदस्यसँग गएर कानेखुसी गरेर भन्न सक्दिनँ, गर्नुपर्छ भनेर मैले भनेको छु । र, निर्णय पनि त्यही भएको छ, गर्ने भन्ने भएको छ ।

अध्यक्ष मैले बोलेँ पनि भन्नुभएको छ । बोल्नु पनि होला । तेस्रो कुरा, पार्टी निर्माणसम्बन्धी राखेको कुरा विचार, योजनाहरूलाई छलफल गरौँला केन्द्रीय समितिसम्म भन्ने भएको छ । पार्टीमा बहस गर्दा त केही बिगँ्रदो रहेनछन् त । स्थायी कमिटीमा बहस गरियो, त्यहाँसम्म पुगियो । केन्द्रीय समितिमा बहस गर्दा त्योभन्दा राम्रो बन्ला अझ । यो कसरी नराम्रो भयो ? पार्टी बनाउने एजेन्डामा छलफल गर्दा कसरी नराम्रो भयो ? आज जुन ढंगले आरोपित गरेर पार्टी खोल मलाई नभनेका होइनन्, भनेका छन् ।

तर, म किन खोल्ने ? यही पार्टी मेरो हो भनेको छु मैले । यही पार्टी मेरो हो । मैले किन पार्टी खोल्ने ? यही पार्टी हो नि मेरो । मेरो मात्रै होइन, मजस्ता हजारौँको पार्टी हो नि । मैले त्यो भनेको छु । म १४ वर्षदेखि यो आन्दोलनमा लागेको हो । ६१ वर्षको भएँ । म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । त्यसपछि उहाँसँगै छु म । मैले कुनै दिन बिसाएको छैन । एक दिन पनि बिसाएको छैन । कति गल्ती गरे हुँला, कति राम्रो गरे होला । तर, आजसम्म मैले बिसाएको छैन । यो करिब ४८ वर्ष भएछ ।

४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरू खपेको छु । मैले धेरै आक्रमणहरूको प्रतिवाद गरेको छु । तर, साबित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु– अहिले पनि कसैले साबित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन । मनोगत रूपमा लाइदिने आरोपको त म के गर्न सक्छु र ? रेको हो !

(रुकुम–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रभाकारले राखेको विचार । कार्यक्रममा प्रचण्ड पनि सहभागी थिए । )