प्रगतिवादी साहित्यकार राम विनयको नवौं पुस्तक पुनर्जन्म प्रकाशित भएको छ ।
कोभिड महामारीको समयमा आफ्ना पिता तथा दुइ भाइहरुको मृत्यु भएको राम विनयको परिवारमा सबैलाई कोभिड भएको थियो । लेखक राम विनय कोभिडको कारण गम्भीर भएर झन्डै तीन हप्ता अस्पताल बस्नु परेको थियो । आइसीयुमा जीवनका अन्तिम सास फेर्दै बाँचेका राम विनयले अत्यन्तै कारुणिक संस्मरण लेखेका छन् । आफ्नो परिवारमा भएको बज्रपात तथा आफुले सहनु परेको पीडाबारे उनले आफूलाई निचोरेर लेखेको बताएका छन् ।
उनले भने – अस्पतालमा रहंदा बाहिरबाट एकजना भाइको निधन थाहा पाएँ, बुबा र अर्को भाइको निधन अस्पतालबाट डिस्चार्ज भएपछि मात्र थाहा पाएँ । घरमा सबैलाई कोरोना संक्रमण भएको पनि घर आएपछि थाहा पाएँ । मैले आइसियुमा हरेक पल जीवन र मृत्युको रेखामा संघर्ष गरें ।
कविता, नियात्रा तथा निबन्ध विधामा कलम चलाउने राम विनय साहित्य सन्ध्या, जनसाहित्य संघ लगायत संस्थामा आवद्ध छन् । उनले प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, रमेश विकल सम्मान, युद्धप्रसाद मिश्र सम्मान, प्रगतिशील लेखक संघ सम्मान आदि दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । पुनर्जन्म ( संस्मरण ) शिखा बुक्सले प्रकाशन गरेको हो ।




