दुई साताभित्रै दोस्रो हवाइ दुर्घटना, ५ को मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले बताए ।

हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक हुन् । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटना भएको हो । दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर दुर्घटनास्थलमा पुगेको छ ।

दुई साताअघि भएको दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।