आफ्नै पसलमा आगो लगाएर बिमा ठगी गर्न खोज्ने पक्राउ

बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा ६ लेकसाइड नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा १७ निवासी २६ वर्षीय सुजन गहतराज र उनका साथी ४३ वर्षीय पवन नेपाललाई शनिबार पक्राउ गरेको थियो ।

गहतराजको मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति सवा २ बजे आगलागी भएको थियो । उनीहरुले पहिला योजना बनाई राति आगो लगाएको पाइएको छ ।

कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले भने, “उहाँहरुले योजना बनाएर राति गएर आगो लगाएको देखियो । बिमाका लागि आफ्नो व्यवसायमा आफैं आगो लगाएको घटना कास्कीका लागि नयाँ हो,” उहाँले भन्नुभयो ।

आगलागीको भोलिपल्टै साउन १७ गते गहतराजले एभरेस्ट इन्स्योरेन्समा क्षति दाबी गरी निवेदन दिएका थिए । घरधनीले करिब ७५ क्षति भएको उल्लेख गरेको र गहतराजले डेढ करोड क्षति भएको दाबी गरी निवेदन दिएका थिए ।

मुक्तिनाथ सपिङ सेन्टरको सन् २०२४ मार्च १५ मा दुई करोड १० लाखको बिमा गरिएको थियो । पसल नचलेको, स्टक धेरै रहेको भनी नेपाल र गहतराजले मिलेर आगो लगाएको खुलेको छ ।

नेपालले गत वर्ष आफ्नो कृषि फर्ममा यसरी नै आगो लगाएर ३१ लाख क्षतिपूर्ति लिइसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान जारी छ ।