बेला बेलामा देश, विदेशका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ । ‘के टु के’ को ब्यानरमा टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडु राज्यको समुन्द्री तटको सहर कन्याकुमारीसम्म पुगेर फर्किनेछ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख पिएस बेगलले डुलुवाका संयोजक योगेश भट्टराईलाई नेपाल र भारतको झन्डा हस्तान्तरण गरी बिदाइ गरे । १९ सदस्यीय टोली अगस्त २५ मा पोखरा आईपुग्ने योजना छ ।
पोखराबाट रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्ली हुँदै टोली पोखरा फर्किनेछ । अभियानले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकलाई बड्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने डुलुवाका संयोजक भट्टराईले सुनाए । टोलीले विभिन्न भारतका विभिन्न स्थानमा सरोकारवालासँग सहकार्य गरी पत्रकार भेटघाट, अन्तक्र्रियासमेत गर्ने छ ।
महानगर प्रमुख आचार्यले यस खालका भ्रमणले पर्यटन राजधानीको प्रवद्र्धनमा ईटा थप्ने उल्लेख जनाए । भारतीय पेन्सन क्याम्पका प्रमुख बेगलले भारतमा हुँदा कुनै कठिनाइ आईपरे समन्वय गरिने जनाए ।
सन् २००८ मा प्याराग्लाइडिङ र अन्य पर्यटन व्यवसायमा आबद्ध पोखराका केही युवाले अनौपचारिक रूपमा नेपाल घुम्न थालेका थिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख नवीन पोखरेल, डुलुवाका सदस्य ठाकुर बरालले पनि बोलेका थिए ।
स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ । ‘पहिला देश अनि विदेश” भन्ने उद्घोषलाई अंगिकार गर्दै डुलुवाले यसअघि भारतको लद्दाखसम्मको यात्रा गरेको छ ।
डुलुवा टोलीलाई यात्राका लागि गोर्खा ब्रुअरी, जोनी वाकर, द सिङगलटन, खुकुरी रम, माउन्ड कैसाश, बिजीबी रिसोर्ट, क्लब प्याराडिसो, सुलभ डिपार्टमेन्टल स्टोर्स, नेपाल पर्यटन बोर्ड पोखरा, रेबान पोखरा, पारानोभा प्याराग्लाइडिङ, पोखरा पर्यटन परिषद्, अर्वान यति, अटोवेज, टोयटा, करेन्ट नुडल्स आदिले सघाएका छन् ।