पोखरा २१ मा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पु¥याउनेबित्तिकै पौने १० बजे मृत्यु भएको थियो । आरतीका छोरा पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा पौने ११ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।
दुर्घटनामा श्रीमती र कान्छो छोरा गुमाएका पोखरा–२१, रामदीका दीपक विकका अर्का छोरा पनि सोही दुर्घटनामा परी घाइते छन् । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीले सामान्य आर्थिक अवस्थाका दीपकका जेठा छोराको अवस्था भने खतरामुक्त रहेको जानकारी दिए ।
बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जनाको पोखराका तीन अस्पतालमा उपचार हुँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले ओरालो बाटोको घुम्तीमा दुर्घटना भएको उल्लेख गर्दै चालकले बसमाथि नियन्त्रण गुमाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरे । उद्धारमा आफैं खटिएका थापाले भने, “भीरालो, घुम्ती बाटोमा चालकले नियन्त्रण गुमाउँदा बस खसेको देखिन्छ । अन्य लापरवाही वा मादक पदार्थ सेवन गरेको देखिएन ।”
पोखरा महानगरपालिका वडा नम्बर २१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा १७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । बसमा चालक, सहचालक, अभिभावक, शिक्षक विद्यार्थी गरी ३० जना सवार थिए ।
घाइतेहरुलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक थापाको कमान्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए ।
केही विद्यार्थीको अवस्था गम्भीर छ । अहिले गण्डकी मेडिकल कलेजमा पोखरा २१ कृस्तीकी ९ वर्षीय अनमोल विक, वर्ष ५ का रोशन बराल, वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृति गुरुङ, वर्ष ६ का प्रिन्स राना, वर्ष ७ की चिजा विक, वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की बिसिका पौडेल, वर्ष ११ की विश्वास पौडेल, वर्ष १२ की सिम्रन विक र वर्ष ११ का विवश खत्रीको उपचर भइरहेको छ ।
मणिपाल शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । पोखरा २१ का ८ वर्षीय निशान सुनार र सोही ठाउँका ५ वर्षीय सागर थापाको उपचार मणिपालमा हुँदै छ । बसका चालक पोखरा–१७, विरौटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेलको पनि सोही अस्पतालमा उपचार हुँदै छ । भुजेलको अवस्था खतरामुक्त छ ।
बाँकी १२ घाइते पश्चिम क्षेत्रीय अस्पतालमा छन् । पोखरा २१ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ का रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सीतादेवी विक, वर्ष ७ का अस्मित विक, वर्ष ३० की सुमित्रा सुनार, वर्ष २द का निर्दाेष सुनार र वर्ष ११ का निश्चल सुनारको उपचार हुँदै छ ।
१४ वर्षीया सीतादेवी विक अर्कै विद्यालय छोरेपाटन माविकी विद्यार्थी हुन् । ३० वर्षीया सुमित्रा सुनार एलपी स्कुलकी अभिभावक हुन् भने एलपी स्कुलकी शिक्षक ३० वर्षीया सपना आले पनि घाइते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत छिन् ।