
यातायात व्यवसायीले पोखरामा गरेको आन्दोलनमा दुई पत्रकारमाथि हातपात भएको छ ।
पत्रकार भएको परिचय दिँदादिँदै उनीहरुले पृथ्वीचोकमा पत्रकार सुरज थापा र बिनु थापालाई कुटपिट गरेका हुन् । कास्की प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । सूर्यबहादुर नेपाली, बुद्धिबहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले कुटपिट गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । यातायात व्यवसायीले पत्रकार सुरजको ग२०प ३९७५ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन् ।
पत्रकारमाथि कुटपिट भएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति महासचिव रोशन पुरीसहित पत्रकारका संघ, संस्थाले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेका छन् । दोषीमाथि कारवाहीको माग गर्दै यस्ता घटना नदोहो¥याउन उनीहरुले चेतावनी दिएका छन् ।
यातायात व्यवसायीले आइतबारदेखि भाडाका सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । पार्किङ गर्न लगिएका र खाली सार्वजनिक सवारीका समेत व्यवसायीले चाबी खोसेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकीका संयोजक केदार पौडेलले सञ्चारकर्मीमाथि हातपात भएको घटनामा दुःख व्यक्त गर्दै आन्दोलनमा घुसपेठ भएको दाबी गरे । उनीहरुले राइड सेयरिङलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुुरक्षा योजना तत्काल लागू गर्नुपर्ने मागसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा माग राखेका थिए ।
यातायात प्राधिकरण गठन गरी सञ्चालनको कार्यविधि बनाउनुपर्ने, वैज्ञानिक भाडादर लागू गर्नुपर्ने र यातायात मजदुरहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ध्यानकर्षण पत्रमा उल्लेख छ ।