
पोखरा महानगरमा लेकसाइडपछि पर्यटकको रोजाइमा पर्छ बेगनासताल । बेगनाससहित साबिक लेखनाथको पर्यटन र जनजीवन अहिले बाटोका कारण प्रभावित बनेको छ । पोखरा–२७ तालचोकदेखि पोखरा–३१ बेगनासताल पुग्ने सडक निर्माण कछुवा गतिमा हुँदा स्थानीय र पर्यटक दुवै सास्ती भोग्न वाध्य छन् ।
गएको असार २० गते सडक निर्माण सक्नुपर्नेमा अहिलेसम्म २१ प्रतिशतमात्र काम भएको छ । बेगनास र रुपा गाउँपालिकासहित लमजुङ जानेहरु हिलो, धुलो सहँदै वैकल्पिक बाटो खोज्न बाध्य छन् । लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओझा व्यवसायी पलायन हुने अवस्था आएको र सर्वसाधारणसमेत हिड्न कठिन अवस्था भएको बताउनुहुन्छ ।
“जेठअघि धूलोले समस्या थियो, अहिले हिलोले हैरान छ । सडकमा माटो र निर्माण सामग्री राख्दा आवागमन पूरै ठप्प छ,” उहाँ भन्नुहुन्छ, “व्यापार, व्यवसाय त चौपट नै छ, हिड्डुल गर्नसमेत सकस छ ।” यो सडक निर्माणका लागि ७५ करोड ४८ लाख ६७ हजारमा स्वच्छन्द सपना एन्ड वाइड जेभीले जिम्मा पाएको थियो ।
२०७९ असारमा दुई वर्षमा काम सक्ने सम्झौता गरेको कम्पनीले जिम्मा दिएको अर्काे कम्पनीले काम नगर्दा बाटो अलपत्र परेको थियो । ठेक्काअघि नै परामर्शदाता छनोट हुनुपर्नेमा सम्झौता भएको सात महिनापछि मात्र छनोट गरिएको थियो । २०७९ भदौमा पाँच करोड पेस्की लिएको निर्माण कम्पनीले २०८० असारबाट मात्र काम सुरु गरेको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङ काम सुरु नै सम्झौता भएको एक वर्षपछि हुनु र बिचमा अनेक समस्या आउँदा चरम ढिलासुस्ती भएको बताउनुहुन्छ । “काम सक्नुपर्ने बेलासम्म एक चौथाई पनि काम भएको छैन, लेखनाथबासी र पर्यटकलाई यो बाटोले असह्य सास्ती भएको छ,” उहाँ भन्नुहुन्छ ।
निर्माण कम्पनीले गएको अहिले करिब एक सय कामदार फिल्डमा खटाएको छ । वर्षाको समय भएकाले मुख्य निर्माणभन्दा अरु काममा कामदार लागेका छन् । आयोजनाका परामर्शदाता इन्जिनियर दिल राना अहिलेसम्म आर्थिक प्रगति १७ प्रतिशत र भौतिक प्रगति २१ प्रतिशत भएको बताउनुहुन्छ ।
यो सडकबारे पोखरा महानगरपालिकाले सहरी विकास मन्त्रालय, विकास साझेदार विश्व बैंक, निर्माण कम्पनी र परामर्शदातासँग छलफसमेत गरेको छ । छलफलमा स्वच्छन्द सपना एन्ड वाइड जेभीका सञ्चालक जयराम लामिछानेले चाँडोभन्दा चाँडो तीन प्याकेज बनाएर काम गरिने वाचा गर्नुभएको छ ।
“ड्रेन एन्ड स्ट्रक्टर, ब्रिज र पेभमेन्ट गरी तीन प्याकेज बनाएर काम गर्छाैं,”, उहाँ भन्नुहुन्छ, “क्याच अप प्लान (अर्थात् व्यतीत भइसकेको परियोजनाको समयावधिमा हुनुपर्ने कामको अनुपातमा परियोजनाको भौतिक प्रगति) अनुसार काम गर्छाैं । विश्व बैंकको समयसीमामै काम सक्छौँ ।”
पोखरा महानगरका प्रमुख धनराज आचार्यले मुख्य निर्माण कम्पनीले जनाएको प्रतिवद्धताले सडक निर्माणले चाँडै गति लिने अपेक्षा गर्नुभयो । उहाँ भन्नुहुन्छ, “तत्काल फिल्डमा काम थाल्न र हरेक हप्ता महानगरलाई प्रगति विवरण पठाउन भनेका छौँ ।”
तालचोक–बेगनास सडक पोखरा–मुग्लिन राजमार्गसँग पनि जोडिएको छ । विश्व बैंकले दिएको समयसीमा एक वर्षमात्र बाँकी रहँदा काम नसकिए अनुदान फिर्ता जाने र बाँकी रकम आफैंले हाल्नुपर्ने अवस्था आउनेबारे सचेत रहेको प्रमुख आचार्यले बताउनुभयो । “विश्व बैंकले पोखराको सडकमा ठूलो लगानी गरेको छ । समयमै काम सके एकातिर विकास साझेदारको विश्वास आर्जन हुन्छ भने अर्कातिर सिङ्गो लेखनाथ क्षेत्रको विकासले नै कोल्टे फेर्छ,” उहाँले भन्नुभयो ।
चार लेनको यो सडक विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको हो । तीन दशमलव २८ किलोमिटरको सडक फुट ट्रयाक, साइकल लेन, डिभाइडर र पार्किङसहितको नुमना बन्नेछ । महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतम सडक छेउमा बगैँचा, सडक बत्तीलगायत आकर्षक पूर्वाधारसहितको बाटो बन्ने योजना सुनाउनुहुन्छ ।