नेकपा कास्कीले थाल्यो उत्पादन

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले जिल्लामा उत्पादन थालेको छ । पार्टीले पोखरा २६ र पोखरा १४ मा सामूहिक कृषि सुरुआत गरेको हो ।

यसपालि सामूहिक उत्पादन सुरु गरिएको जनाउँदै नेकपा कास्की सेक्रेटरी उमेश सीले अर्को वर्षबाट कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाए । ‘यसपालिका उत्पादन सुरुआत गरेका छौं,’ उनी भन्छन्, ‘अर्को वर्षबाट सबैजसो जनवर्गीय सङ्गठनलाई उत्पादनमा जोड्ने योजना छ ।’

एकीकृत जनक्रान्तिको अभिभारा पूरा गर्न पार्टी उत्पादनमा नलागी नहुने जनाउँदै उनले पार्टी सञ्चालनकै लागि चन्दा उठाउनुपर्ने अवस्था चाँडै पूर्ण रुपमा अन्त्य गर्ने गरी लाग्ने वाचा गरे ।

पोखरा–१४ छिनेडाँडामा यसपालि सयपत्री फूल रोप्ने तयारी भएको छ । तिहारको बजारलाई लक्ष्य गरी शुक्रबार फूलको बिउँ राख्ने तयारी छ । पोखरा २६ मा पर्ने लेखनाथ, माझको मूलपानीमा भने पाँच रोपनीमा धान रोपिएको छ । अर्को साल थप जग्गासमेत लिने र मौसम अनुसारका खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गर्ने योजना उनले सुनाए ।