काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार 18 जनाको निधन भएको छ ।
उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार 18 जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा 18 जनाको मृत्यु भएको जनाएको छ ।
सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको छ । उद्धार गरिएका १ जना पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।
जहाजले नियमित मर्मतका लागि पोखरा उडानको अनुमति लिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। “नियमित मर्मतका लागि हिजो नै उडान अनुमति लिएको हो,” उनले भने।
जहाजमा चालक दलका दुई सदस्य सहित १९ जना थिए। पाइलट मनीष शाक्यको जीवितै उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका लागि लगिएको पनि उनले बताए।
जहाज ११ बजेर २६ मिनेटमा जमीन छोड्ने बित्तिकै दुर्घटनामा परेको हो। करीब १५(२० फिट माथि पुग्नासाथै जहाज अनियन्त्रित बनेर गोठाटारपट्टि खसेको भुलले बताए।
विमानस्थलबाट आन्तरिक र बाह्य दुवै उडान बन्द छन्। विमानस्थल कार्यालयका अनुसार अवतरणको तयारीमा रहेका अन्तर्राष्ट्रिय विमानलाई आउन दिइएको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुपर्ने विमान बाङ्लादेश, मलेशिया एयरलाइन्स सहितका कतिपय विमान बाटैबाट अन्यत्रै मोडिएका छन्।
दिल्ली जान लागेको भिस्तारा, ब्यांकक जाने क्रममा रहेको नेपाल एअरलाइन्स, दोहा जान लागेको कतार एअरवेज, एअर चाइना, भूटान एअरलाइन्स सहितका विमानको उडान अनिश्चित बन्न पुगेको छ।
कैयौं आन्तरिक विमानको पनि उडान स्थगित भएको छ। त्रिभुवन विमानस्थलमा आउनुपर्ने आन्तरिक जहाजलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ। उद्धारको काम नसकिएसम्म विमानस्थल बन्द रहने भएको छ।
जहाजमा रहेका यात्रुहरुको विवरण







