गण्डकीका संस्थापक मुख्यमन्त्रीदेखि संघीय सञ्चार मन्त्रीसम्म

लमजुङमा नेपाली कांग्रेस र एमालेको जनमत हाराहारी जस्तै देखिन्छ । गएको चुनावमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार विरुद्ध एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई उभ्याएको थियो । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङविरुद्ध जित निकाल्नु निकै कठिन थियो, किनकि अघिल्ला निर्वाचनका अङ्कगणित पृथ्वीसुब्बाको पक्षमा थिएन । लमजुङमा कहिले एमाले त कहिले नेपाली कांग्रेसका उम्मेवदार विजयी हँुदै आएका थिए ।

२०७९ को निर्वाचनमा एमाले उम्मेदवार बन्नुभएका पृथ्वीसुब्बा विजयी बने । विगतका चुनावको अङ्कगणित भन्दा उनको व्यक्तित्व र गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्दा निर्वाह गरेको भूमिकाका कारण उनी लोकप्रिय थिए । असार १५ गते केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सोमबार उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका छन् । मन्त्री गुरुङले पदभार ग्रहण गर्दै धेरै कुरा बोल्नेभन्दा पनि बुझेर परिणाम निकाल्ने गर्ने काम गर्ने उल्लेख गरेका छन्।

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री गुरुङको कार्यकालमा प्रदेशले पृथक पहिचान बनाएको थियो । नेपालको संविधान बमोजिम सङ्घ सरकारले अधिकार नदिएको प्रष्ट रुपमा राख्दै उनले देशैभरका मुख्यमन्त्रीहरुको भेला पनि पोखरामा आयोजना गरेका थिए । प्रदेशको अधिकारबारे छलफल हुने सबैजसो मञ्चमा उनको सम्झना हुने गर्छ ।

२०१४ साल फागुन २ गते जन्मिएका गुरुङ विद्यार्थी जीवनबाटै राजनीतिमा लगेका हुन् । २०३८ सालमा ज्याला वृद्धिका लागि किसान आन्दोलन, २०४५ मा नेकपा (माले) द्वारा सञ्चालित पञ्चायतविरोधी संघर्षमा सरिक भएका उनले २०४६ सालमा भएको माले र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजक बनी जिल्लामा आन्दोलनको नेतृत्व गरेका थिए ।

लमजुङको क्व्होलासोंथर गाउँपालिका ९ मा जन्मिएका गुरुङले इशानेश्वर प्रमोद हाइ स्कुल भोर्लेटारबाट २०३० सालमा प्रवेशिका परीक्षा पास गरेका थिए । अमृत साइन्स क्याम्पस काठमाडौंबाट २०३४ मा स्नातक गरेपछि उनी केही समय शिक्षणमा समेत आवद्ध भएका थिए ।

क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ९ मा पर्ने गिलुङको बुद्धोदय माविमा प्रधानाध्यापक बनी उनले सात वर्ष काम गरे । प्रधानाध्यापकबाट राजीनामा दिएर २०४३ सालमा उनी जनपक्षीय उम्मेदवार बनेका थिए । त्यस बेला राष्ट्रिय पञ्चायत सदस्यमा लेखनाथ अधिकारीसँग पराजित बने ।

विद्यालय जीवनमा अनेरास्ववियुमा सक्रिय उनी २०३५ सालबाट पार्टी राजनीतिमा लागेका हुन्। गुरुङ २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटीको वैकल्पिक सदस्य चुनिएका थिए । उनले २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव बनी कार्य गरेका थिए ।

विं सं. २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित उनी नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका थिए । सङ्घीयतापछि लमजुङबाट प्रदेशसभा खमा उम्मेदवार बनी उनी मुख्यमन्त्री भएका थिए ।

२०६४ सालको संविधानसभाको चुनावमा नेकपा एमालेबाट लमजुङ क्षेत्र नम्बर २ बाट विजयी उनले २०७० सालको संविधानसभाको चुनावमा भने पराजित भोग्नुपरेको थियो। गुरुङले आदिवासी जनजाति महासंघको समेत नेतृत्व गरिसकेका छन्। पहिलो संविधानसभा निर्वाचनपछि बनेको सांसदहरुको समूह ककसको समेत उनी अध्यक्ष थिए ।

आफ्ना कुरा प्रष्ट राख्ने पृथ्वीसुब्बा अहिले सरकारको प्रवक्तासमेत बनेका छन् । सञ्चार क्षेत्रका बाँकी ऐन ल्याउनु, सरकारी मिडियाहरु व्यवस्थित बनाउनुका साथै सरकार र सञ्चार जगतबीच बन्ने सम्बन्धबाट उनको सफलता मापन हुनेछ ।