शोकमा डुब्यो पुरुन्चौर, किशोर पवनले गुमाए ६ आफन्त

पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरको तल्लाकोट ७ जना र पोखरा–३२ चैनपुरमा ३ गरी पोखरा महानगरमा बाढी, पहिरोले १० जनाको ज्यान गएको छ । एकै परिवारका ६ सहित ७ जनाको ज्यान गएपछि पुरुन्चोर बस्ती नै शोकमा डुबेको छ ।

पहिरोमा परी तल्लाकोट निवासी ४७ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लक्षिमा परियार, १५ वर्षीय प्रशना परियार, २० वर्षीय प्रभा परियार, २५ वर्षीय अस्मित परियार र राधिका परियारले ज्यान गुमाउन पुगेका छन् ।

पोखरा ३२ को चैनपुरमा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुष्का ओझा र ९ वर्षीय प्रतीक सुवेदीले ज्यान गुमाएका छन् । पहिरोमा सम्पूर्ण परिवार गुमाएका पोखरा १९ का पवन परियारको महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले पवनको पढाई लेखाई र गाँसवासको उचित प्रबन्ध महानगरले गर्ने जनाए । पोखरामा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका प्रतेक परिवारलाई पचास हजार रुपैयाँका दरले उपलब्ध गराउने जानकारीसमेत उनीले दिएका छन् ।

बिन्धेश्वरी माविमा कक्षा १० मा अध्ययनरत उनलाई कमजोर स्वास्थ्य अवस्थाका बुवा संगै उनकी आमाले दुखजिलो गरेर पढाउदै आईरहेकी थिईन । भारी वर्ष संगै आएको पहिरोले माईती बस्न आएकी दिदी भेना संगै उनको सहारा बुवा आमा र अन्य नजिकका आफन्त सधैका लागि चुडेर लगेको छ।

वैदेशिक रोजगारीमा रहेकी उनकी दिदी बाहेक अब उनको परिवार पहिरो संगै अस्ताएका छन । सेती नदीका किनारमा शोकमग्न आफन्त, गाँउले छरछिमेक र जनप्रतिनिधिहरुका माझ लहरै राखिएका परिवारको शवका अगाडि उनी उदास र कर्तव्यबिमुढ देखिन्थे । उनीहरुको शुक्रबार नै सामूहिक दाहसस्कार गरिएको छ ।