
पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वास गुमाएका छन्। शुक्रबार प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको बताइएको छ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ ।
३ वर्षअघि असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका अोली असार २८ गतेकै दिन प्रधानमन्त्री बन्नेगरी शेरवहादुर देउवाकै समर्थनमा राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्न गएका थिए ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।
त्यसअघि प्रचण्डले शुक्रबार पाँचौपटक विश्वासको मत मागेका थिए। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त गरे भने विपक्षमा १९४ सांसदले मतदान गरे। विश्वासको मत प्रक्रियामा २५८ सांसद सरिक भएका थिए।
गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएको थियो। सो समझदारीपछि असार १९ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएको थियो।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार ३० दिनभित्र विश्वास लिनुपर्ने संवैधानिक बाध्यता थियो। कांग्रेस र एमालेले राजीनामा मागे पनि उनले संसदको सामना गर्ने बताएका थिए।
यसअघि ०७९ पुस १० गते प्रचण्ड पहिलोपटक नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए। उनले पहिलोपटक ०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए।
त्यतिबेला उपस्थित २ सय ७० सांसदमध्ये प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए। त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिएका थिए।
त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाएका थिए।त्यसपछि उनले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए।
चौथोपटक प्रधानमन्त्री प्रचण्डले २०८१ चैत ७ गते चौथोपटक विश्वासको मत लिए। त्यतिबेला उपस्थित सांसदमध्ये १ सय ५८ जना सांसद मतदान प्रक्रियामा सरिक भए। जसमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ मत परेको थियो।