बिहीबार राति कास्कीका विभिन्न ठाउँमा आएको पहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरुमा वर्ष ४७ का कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेका छन् ।
४६ वर्षीया राधिका परियारको पनि मृत्यु भएको छ । सो घटनामा मृत्यु भएका सबै जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घाइते पवन र कुमार परियारको पनि सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
कास्कीकै मादी ११ तल्लो साप्लेमा हुमबहादुर गुरुङको घरमा पहिरो आउँदा ८० वर्षीय माइती गुरुङको मृत्यु भएको छ भने हुमबहादुर घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं ३० र ३२ को सिमानामा रहेको चैनपुरमा आरती ओझाको घरमा बाढी पस्दा छोरीहरू १८ वर्षकी अस्मिता, ११ वर्षकी अनुष्का र उनका भतिज ९ वर्षीय पुष्प सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सो घटनामा घाइते ४० वर्षीय आरती ओझालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ ।




