पोखरा महानगरपालिका वडा नम्बर १७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुँजीगत खर्च गरेको छ भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आवका लागि ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुँजीगततर्फ २ करोड ७७ लाख बजेटमा २ करोड ३२ लाख र चालुतर्फ १ करोड ८ लाख बजेट विनियोजन भएकोमा ८५ लाख ५० हजार खर्च भएको वडा सचिव प्रमिला सुवेदीले जानकारी दिइन् ।
वडाले सबैभन्दा धेरै रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ । वडाले ५ करोड ६४ लाख राजस्व संकलन गरेको छ । भूमि तथा मालपोत करबाट सबैभन्दा धेरै १ करोड १४ र व्यवसाय दर्ता तथा नवीकरणबाट ६० लाख २० हजार राजस्व संकलन भएको छ । वडा कार्यालयको आयोजना र पब्लिक फोरके टेलिभिजनको सहकार्यमा भएको पब्लिक सरोकार कार्यक्रममा वडा सचिव सुवेदीले चालु आर्थिक वर्षको प्रगति विवरण पेश गरेकी हुन् ।
कार्यक्रममा सहभागी वडावासीले फेवा नहर र विद्युत नहरमा छेकबार, फोहोर संकलनलाई नियमित र प्रभावकारी बनाइनुपर्ने, खानेपानी अभाव रहेको र फेवा ताल सरसफाइ लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
बिजुलीको नाङ्गो तार विस्थापन गर्न, सोलार बत्ती मर्मत, युवा लक्षित कार्यक्रमलाई बजेटमा समावेश गर्न उनीहरुले माग गरे । स्थानीय अनन्त लम्सालले वडामा खानेपानीको समस्या सभाधान गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराए । उनले वर्षातमा आउने बाढी नियन्त्रण र ढलको दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिए ।
युवा व्यवसायी ईश्वर केसीले सार्वजनिक स्थानमा सिसिक्यामेरा जडान र जडान भएका क्यामेरालाई चुस्त राख्नुपर्ने औंल्याए । डिआर भट्टराईले वडामा भौतिक पूर्वाधारमात्र प्राथमिकतामा परेको भन्दै ज्येष्ठ नागरिक र बालबालिका खेल्ने बगैँचा, पार्क र हरियाली प्रवद्र्धनका कार्यक्रममा ध्यान दिन आग्रह गरे । शान्ति लिम्बुले लामातराको जग्गाको हालसाबिक नहुँदा स्थानीय समस्यामा परेको सुनाइन् ।
सहभागीले विकासको प्राथमिकता पहिचान गरी गुणस्तरीय र पारदर्शी रुपमा बजेट खर्च गर्न साथै वडाबाट दिइने सेवालाई चुस्त, दुरुस्त बनाउन सुझाव दिए ।
सहभागीका प्रश्नको जवाफ दिदै वडाध्यक्ष राधिका शाही योगीले वडाको आवश्यकता र जनताको माग अनुसार नै काम गदै आएको बताइन् ।
फेवा नहर र विधुत नहरमा बालबालिका डुबेर मुत्यु हने गरेकाले सिंचाइ कार्यालय र विद्युत प्राधिकरणसँग मिलेर नहरलाई छेकबार गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । अहिले भएको स्थानमा वडा कार्यालय साधुरो भएकाले ६ महिनाभित्र नयाँ भवनमा वडा कार्यालय स्थान्तरण गरी सेवाग्राही मैत्री कार्यालय बनाइने उनले प्रतिवद्धता गरिन् ।
कार्यक्रममा उठेका जिज्ञासाको जनप्रतिनिधि, सचिव, प्राविधक कर्मचारीले जवाफ दिएका थिए । कार्यक्रममा सहजीकरण अमृतकुमार भट्टराइले गरेका थिए ।