कांग्रेस एमाले एक ठाउँमा, चाँडै नयाँ सरकार बनाउने कसरत

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ ।

ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन् ।

दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्टपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।

दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण मंगलबार मात्रै सार्वजनिक गरिने भएको छ । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसका एक नेताले भने, ‘दुई दल मिलेर सरकार बनाउन देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ । बाँकी काम भोलि हुन्छ ।’

दुई दलबीच एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति भइसकेको उनले बताए । यी दुई दलले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका छन् ।

काङ्ग्रेस सभापति देउवाले सोमबार दिउँसो बूढानीलकण्ठमै पदाधिकारी बैठक राखेका थिए । उता ओलीले एमालेका केही पदाधिकारीसँग बालकोटमै छलफल गरेका थिए ।

यसबीचमा सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए । उता एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालसहित जुटेका थिए ।

अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन फिर्ता लिँदा विश्वासको मत लिन एक महिना समय पाउने भएकाले बहुमत सदस्यको हस्ताक्षर गरेर सरकार गठनका लागि भोलि नै राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिएको छ ।

अहिले सत्तारुढ माओवादी केन्द्रसहित एमाले, कांग्रेस, रास्वपा लगायतका दल छलफलमा जुटेका छन् ।