
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले आइतबार नमुन पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई सेक्सनका ७२ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर डेमो पत्रकार सम्मेलन गरेका हुन् ।
बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरि अधिकारीले बताए । क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यावसायीक जीवनमा निकै काम लाग्ने सीप सिक्ने मौका पाएको जनाइन् ।
कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको शिक्षक सुवास मल्लले जानकारी दिए । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीका प्रस्तुतिको टिप्पणी तथा मूल्यांकन गरेका थिए ।
पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको सहभागी विद्यार्थी रचित पौडेलले बताए ।
पोखरा कलेज अफ म्यानेजमेन्टले २ दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । कलेजमा दिवा तथा बिहानी सत्रमा गरी ६ सयभन्दा बढी विद्यार्थी बिबिए र बिसिआईएस (आइटी) कार्यक्रम अध्ययन गरिरहेका छन् ।