पोखरा महानगरपालिका वडा नम्बर १७ को महतगौंडामा असार १५ को अवसरमा विद्यार्थीसँग विशेष कार्यक्रम हुने भएको छ । सिद्देश्वर बहुउद्देश्यीय कृषि सहकारीले धान दिवसको अवसरमा पारी विभिन्न कार्यक्रम गर्न लागेको हो ।
नयाँ पुस्तालाई रोपाइँ, असारे गीत, धान दिवस आदिको महत्व बुझाउन कार्यक्रम गर्न लागिएको सहकारीका अध्यक्ष शंकरराज भण्डारी बताउँछन् । सो अवसरमा रोपाइँसँगै चित्रकला प्रदर्शनी, असारे गीत प्रस्तुति, विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमसमेत हुने छन् ।
सहकारीका सचिव पवन भण्डारीले महतगौंडाको विरुवा फाँटको करिब तीन रोपनीमा कार्यक्रम हुने जनाए । कार्यक्रममा हलगोरु र काठको हलो लगाएर रोपाइँ गरिनेछ भने दौड, माछा पक्रने, डोरी तान्ने प्रतियोगितासमेत हुने छन् ।
महतगौडा चोकबाट बाचा, भजनसहित खेत पुगी रोपाइँ थाल्ने तयारी छ । कार्यक्रममा पोखरा १७ का ६ विद्यालयका विद्यार्थीसहित चार सय जनाको सहभागिता हुने आयोजकको अनुमान छ । सो अवसरमा कृषिसँग सम्बन्धित रोहित गिरीले खिचेका फोटोहरुसेमत प्रदर्शनी गरिनेछ ।




