घर भत्किँदा २ को मृत्यु, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

मङ्गलबार रातिबाट परेको वर्षाका कारण घर भत्किँदा कास्कीमा दुई जनाको ज्यान गएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा घरले घर भत्किँदा १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।

नजिकैको माटोको ढिस्को भत्किँदा प्रकाश रानाभाटको घर भत्किएको हो । बिहान सवा २ बजेतिर घरले पुरिएर आयुस्माको मृत्यु भएको हो । सँगै सुत्नुभएकी आयुस्माकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारी पनि सकुसल हुनुहुन्छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले लालमायालाई उद्धार गरेको थियोे ।

वर्षाका कारण पोखरा महानगरको वडा नम्बर २७ आरुपाटामा एक बालकको ज्यान गएको छ । बिहान ३ बजेतिर हरि सुनारको घर भत्किँदा उहाँका छोरा तीन वर्षीय अनमोलको मृत्यु भएको हो । अनमोलकी आमा २७ वर्षीया रितु सुनारलाई घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको छ ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले रितुको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घरमै सँगै सुत्नुभएका हरि सुनारर ९ वर्षीया अञ्जली सुनार भने सकुशल हुनुहुन्छ ।

मनसुनी वर्षा सक्रिय भएपछि मङ्गलबार रातिबाट लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदीका सतहहरु बढेका छन् । पोखरा १४ को चाउँथेमा पृथ्वीराजमार्गको सडक भास्सिएको छ । प्रहरीले अहिले एकतर्फी रुपमा सडक सुचारु गराएको छ । सडक भर्खरै दुइतर्फी सञ्चालन हुने अवस्था नरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले जानकारी दिनुभयो ।

वर्षाका कारका पोखरा ७ र पोखरा ३३ का केही घर डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको नियमित बुलेटिनमा केही स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ ।