इन्जिनियरिङ, वन विज्ञान लगायतका बिभिन्न प्राविधिक विषय पढ्नु अझै पनि जो कोहीको पहुँचमा छैन । यस्ता विषय पढ्न खर्च बढी त हुने नै भयो, मिहिनेत र लगाव पनि पनि बढी चाहिन्छ । निम्न आयस्रोत भएका र सामान्य विद्यार्थीको यस कारणले यी विषयमा ध्यान गएको पाइँदैन ।
आयस्रोत अभावले चाहेर पनि कतिपय विद्यार्थीले प्राविधिक शिक्षाबाट वञ्चित हुनुपर्छ । छात्राका लागि त परम्परागत मूल्य, मान्यता पनि तगारो बनेर आइदिन्छन् प्राविधिक शिक्षा लिन । यसलाई हटाउन गरिब तथा जेहेन्दार छात्रालाई लक्षित गर्दै पोखरा महानगरपालिकाले विशेष कार्यक्रम ल्याएको छ ।
महानगरपालिकाले पोखराका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा दिने घोषणा गरेको छ । पोखरा महानगपालिकाको १५ औं नगरसभाले आगामी आर्थिक वर्षबाट यो योजना ल्याउने नीति पारित गरेको छ ।
महानगरपालिकाबाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा अध्यापन गराइने लामो तथा छोटो अवधि करिब एक दर्जन प्राविधिक धारका विषय छात्राहरुले निशुल्क अध्ययन गर्न पाउने छन् । रोजगारमूलक तथा व्यवहारिक शिक्षामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।
गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सनाले जेहेन्दार भएर पनि आर्थिक अवस्था र सामाजिक मान्यताका कारण प्राविधिक शिक्षाको अवसरबाट बञ्चित हुनुपर्ने बाध्यता हटाउन कार्यक्रम लागू गर्न लागिएको बताए । चार वर्षअघि सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा पछिल्लो क्रममा विद्यार्थीको चाप बढ्दो छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)सँगको सहकार्यमा यहाँ रोजगार केन्द्रित करिव दर्जन प्राविधिक विषय पढाइ हुन्छन् । अन्य क्याम्पसभन्दा आधामात्र शुल्क तिनुपर्ने र पास भएपछि रोजगारको अवसर पनि बढी भएको शिक्षालयको दाबी छ ।
गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, जियोम्याटिक्स इन्जिनियरिङ, वनविज्ञान, औद्योगिक प्रशिक्षार्थी तालिम, बिल्डिङ कन्स्ट्रक्सन र प्रि डिप्लोमा तह अटोमोवाइल लगायतका विषय पढाइ हुन्छन् ।




