अन्नपूर्ण गाउँपालिकाले पालिकामा हुने हेलिकोप्टर उडानमा कर लगाएको छ । पालिकामा हेलिकोप्टर दर्ताका लागि एक लाख शुल्क तोकिएको छ भने अन्नपूर्ण आधार शिविर (एबिसी) उडान गर्दा हरेक उडानको १० हजार शुल्क तोकेको छ भने अन्यत्र हरेक उडानको ३ हजार कर तोकिएको छ ।
गाउँपालिकाको विनियोजन ऐनमा यस्तो प्रस्ताव गरिएको छ । पालिकाले आगामी वर्ष गाडी किन्न ६५ लाख बजेट विनियोजन गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाले आगामी आव २०८१/८२ का लागि ५८ करोड ९५ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । जसअनुसार संघीय समानीकरणबाट ९ करोड ९३ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ७२ लाख, संघीय समपूरक अनुदानबाट १ करोड २० लाख, संघीय विशेष अनुदान १ करोड १० लाख, संघीय सशर्त अनुदान २९ करोड ४६ लाख, प्रदेश समानीकरण १ करोड २६ लाख, प्रदेश राजश्व बाँडफाँडबाट ८६ लाख, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख, आन्तरिक आय २ करोड ९७ लाख तथा अघिल्लो वर्षको अल्या ४ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारलाई प्राथमिकता दिई बजेट ल्याएको बताइन् । उनले गाउँपालिका सञ्चालनका लागि ९ करोड, वडागत रुपमा विनियोजन गर्न मिल्ने गरी वडा समितिलाई २ करोड ३८ लाख, वातावरण तथा विपद् व्यवस्थापन कोषका लागि ६३ लाख, सुशासन तथा संस्थागत विकासतर्फ ६५ लाख बजेट विनियोजन गरेको बताइन् ।
बजेटमा आर्थिक विकासतर्फ १ करोड ६२ लाख, सामाजिक विकासका लागि ३३ करोड, पूर्वाधार विकासतर्फ ११ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अप्ठेरो अवस्थामा रही बजेट ल्याउनुपरेको स्पष्ट पार्दै बाँकी दायित्वका कारण पूर्वाधार विकासतर्फको बजेटमा केही कमी भएको बताए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, पालिका प्रवक्ता भरतमान् गुरुङ, वडा ५ का अध्यक्ष जीवनाथ पौडेल, वडा २ अध्यक्ष पिताम्वर भण्डारी लगायतले बजेटमाथि धारणा राखे ।
गाउँसभा सदस्य जगनबहादुर गुरुङ, रामबहादुर विक, नीलकण्ठ चापागाई, कृष्णप्रसाद पौडेल, गौप्रसाद गुरुङ, भानुभक्त दाहाल लगायतले नीति तथा कार्यक्रम अनुसार बजेट आउन नसकेको, हलगोरु पाल्ने किसानलाई अनुदान दिन पहल नभएको, वस्तीस्तरबाट आएका योजनाको अवमूल्यन गरिएको, वडास्थित मुख्य बाटोलाई छोडी पहुँचका भरमा सहायक बाटोमा बजेट हालिएको, बाँदर नियन्त्रण बजेटले पूरा बेवास्ता गरेको भन्दै ती योजनालाई पनि बजेट सम्बोधन हुनुपर्ने माग गरे ।
गाउँपालिकाले आगामी आवमा भिजिट अन्नपूर्ण कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने भएको छ । आइतबार १६ औं गाउँसभाबीच आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भिजिट अन्नपूर्ण कार्यक्रमलाई पर्यटन प्रवद्र्धनको महत्वपूर्ण योजनाका रुपमा अगाडि सारेको हो । गाउँपालिकाले एक घर एक करेसावारी कार्यक्रम कार्यान्वयन गर्ने, पालिका स्तरीय कृषि सूचना केन्द्र स्थापना गर्ने, पार्कोट र लिमे जस्ता रैथाने जातका भैँसीपालनलाई प्राथमिकता दिने भएको छ ।
अन्नपूर्ण-गाउँपालिका-बजेट-2