आवधिक र गुरुयोजना बनाउँदै माछापुच्छ«े

कास्कीको माछापुच्छ«े गाउँपालिकाले स्थानीय तह स्थापनाको सात वर्षपछि गुरुयोजना र आवधिक योजना बनाउने भएको छ । पालिकाको व्यवस्थित र योजनावद्ध विकासका लागि आवधिक योजना र गाउँ गुरुयोजना आगामी आर्थिक वर्ष बनाइने भएको हो ।

यसका लागि ०८१÷०८२ को बजेटा १८ लाख बजेट विनियोजन भएको छ । सोमबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षको बजेटको अनुमान पेश गर्नुभयो । आगामी वर्षका लागि अनुमानित कुल बजेट ६५ करोड ६५ लाख २५ हजार पाँच सय छ । चालु वर्षमा माछापुच्छ«ेको बजेट ६६ करोड ७३ लाख ६० हजार छ ।

आगामी वर्ष संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान नौ करोड ५४ लाख, सशर्त अनुदान २७ करोड ३७ लाख २५ हजार पाँच सय, समपूरक अनुदान तीन करोड, राजस्व बाँडफाँटबाट १० करोड ७१ लाख ५६ हजार एक सय २६ रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ३१ लाख ४३ हजार प्राप्त हुने अनुमान छ ।

उपाध्यक्ष अधिकारीले प्रदेश सरकारबाट समानीकरण अुनदान एक करोड १९ लाख, विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख र सवारी करतर्फ ९९ लाख ८१ हजार प्राप्त हुने विवरण पेश गर्नुभयो । पालिकाको आन्तरिक राजस्व पाँच करोड, चालु वर्षको बैंक मौज्दात पाँच करोड ५६ लाख, घर जग्गा रजिष्ट्रेसनबाट ८० लाख र जगसहभागिताबाट १५ लाख आय हुने अनुमान छ ।

पालिकाले प्रशासकीय भवनका लागि ७० लाख र मौरी प्रवर्धन कार्यक्रमलाई १५ लाख विनियोजना गरेको छ । पूर्वाधार विकासमा ५९.४६ प्रतिशत बजेट विनियोजन भएको छ । माछापुच्छ«ेले स्थानीय उत्पादन बजारीकरणका लागि कोसेली घर सञ्चालन गर्ने भएको छ भने फोहोर मैला व्यवस्थापनका लागि १८ लाख बजेट छ ।