मणिपाल शिक्षण अस्पताललाई २० करोड कर छुट दिने निर्णय बदर गरेको पोखरा महानगर धेरै ठाउँमा चुकेको छ । त्यस्तै एक ठाउँ होः फोहोर व्यवस्थापन ।
फोहोरभित्रको बेथिति यहाँसम्म छ कि लामो समयदेखि टेन्डर नै नगरी छ कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिइएको छ । बिना प्रतिस्पर्धा ६ वटा कम्पनीलाई पाँच सय प्रतिशतसम्म घटेर फोहोर व्यवस्थापनको जिम्मा दिएको पोखरा महानगरले ६ करोड ६५ लाख घाटा व्यहोरेको महालेखको प्रतिवेदनले औंल्याएको छ ।
अहिले लामेआहाल अस्थायी रुपमा चलाइएको ल्यान्डफिल साइटमा पनि मनोमानी तवरले भुक्तानी दिइएको पाइएको छ । राजनीतिक आडमा एक व्यक्तिले जथाभावी भुक्तानी लिएका छन् । लामेआहालको ल्यान्डफिल साइटमात्र सवा १ करोड अनियमित खर्च भएको महालेखाले औंल्याएको छ ।
पोखरा महानगरपालिकाबाट दैनिक २ सय टन फोहोर उत्पादन हुने बताइन्छ । महानगरपालिकाले २०५७।५८ देखि महानगर क्षेत्रका घर र सार्वजनिक स्थलका फोहोर वडा नम्बर १४ मा पर्ने सेती नदी किनारमा व्यवस्थापन गर्दै आएकोमा २०६१ सालमा सो स्थानमा १५ वर्ष फोहोर फाल्ने गरी स्थानीय वासिन्दासँग सहमति भएको देखिन्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालनमा आए पोखरा १४ को ल्यान्डफिल साइट बन्द गरिएको छ । हाल वडा नं ३२ लामे
आहालमा फोहर विसर्जन गरिरहेको छ । चाँडै ल्याडफिल साइट तयार गर्ने र फोहोर स्रोतमै वर्गीकरण गर्ने हरेक बजेटमा बाचा गरिए पनि त्यो पूरा हुन सकेको छैन ।
पोखरा महानगरले फोहर व्यवस्थापनका लागि उल्लेख्य रकम वर्षेनी खर्च गर्दै आएको छ । आर्थिक वर्ष ०७९÷०८० मा फोहोर व्यवस्थापनमा २ करोड १ लाख खर्च भएको छ । वडा ३३ मा जग्गा प्राप्ति गर्ने भनि बजेट व्यवस्थापन भएता पनि कार्य हुन नसकी हाल जग्गा प्राप्तिको लागि संघीय सरकारलाई लेखिपठाएको पाईयो ।
महानगरले फोहरमैला व्यवस्थापनको अध्ययन अवलोकन गर्न भनी ०७९÷०८० मा स्वदेश तथा विदेश भ्रमणमा ८ लाख ८० हजार खर्च गरेको छ । फोहरलाई मोहरमा परिणत गर्न देशका धेरै पालिकाले सफलतापूर्वक कार्य गरिरहेका छन् ।
कुहिने फोहरलाई घरघरमै व्यवस्थापन गर्न र व्यवस्थापन हुन नसकेका फोहरलाई मोहरमा परिणत गर्न गन्धरहित कम्पोष्ट मल वनाउन प्रविधि भित्र्याई विभिन्न संस्थाको साझेदारीमा फोहर व्यवस्थापन तथा सरसफाई केन्द्र स्थापना गर्न गर्न महालेखाले महानगरलाई सचेत गराएको छ ।




