राजस्व उठाउन वेवास्ता, मनपरी बाँडियो ३८ लाख

कास्कीको रुपमा गाउँपालिकले आन्तरिक आम्दानी निकै थोरै भए पनि राजस्व उठाएन ध्यान दिएको छैन । उल्टै आर्थिक वर्ष ०७९÷०८० मा गाउँपालिकाले विभिन्न व्यक्ति, संघ, संस्थालाई ३८ लाख १६ हजार नौ सय ५२ आर्थिक सहयोग गरेको छ।

एक करोड १९ लाख आन्तरिक आम्दानी गरेको पालिकाका पदाधिकारीको सुविधा, भत्तामै ७८ लाख ८० हजार खर्च भएको देखिन्छ । पालिकाको आन्तरिक आम्दानी कुल खर्च ३९ करोड २३ लाख खर्चको तीन दशमलव शून्य चार प्रतिशतमात्र छ ।

०७९÷०८० मा ५५ करोड ७२ लाख ४७ हजार सात सय ३३ रुपैयाँको बजेटमध्ये ३९ करोड २३ लाख ३७ हजार सात सय ७७ अर्थात ७०.४१ प्रतिशतमात्र खर्च भएको थियो । आन्तरिक आय वृद्धिका स्रोत खोज्नसमेत महालेखाले सुझाएको छ ।

रुपाले चार वटा घाट ठेक्काका लागि आह्वान गरेको दुई वटामात्र ठेक्कामा लागेका थिए । इआइए प्रतिवदेनले थप पाँच घाट ठेक्का लाग्न सक्ने देखिएकोमा अरु घाटको टेन्डर आह्वान नै भएन । यसो हुँदा घाटमा ९० लाख १७ हजार पाँच सय ६९ राजस्व गुमेको छ ।

अघिल्लो वर्ष ५५ लाख ७९ हजार नौ सय ४७ रुपैयाँमा इन्धनमा खर्च भएकोमा ०७९÷०८० मा ५९ लाख ५७ हजार छ सय पाँच रुपैयाँ खर्च भएको छ । गाउँपालिका स्थापना दिवसमै १८ लाख अनावश्यक खर्च भएको छ ।

यस्तै, रुपाले जेसिबीमा मात्रै साढे १६ लाख खर्च देखाएको छ । ०७९÷०८० मा रुपाको बेरुजू दुई करोड २५ लाख २१ हजार छ । त्यसमध्ये असुल गर्नुपर्ने ४९ हजार, प्रमाण, कागजात पेश गर्नुपर्ने दुई करोड ८ लाख १४ हजार र नियमित गर्नुपर्ने १६ लाख ५८ हजार देखिन्छ । गत वर्षसम्म नौ करोड ४१ लाख ७८ हजार बेरुजू रहेकोमा अद्यावधिक बेरुजू ११ करोड ६६ लाख ९९ हजार पुगेको छ ।

रुपामा योजनाको छनोटदेखि कार्यान्वयनसमेत कमजोर देखिएको छ । तीन सय १५ योजनामध्ये १५ मा शून्य प्रगति छ भने ५० प्रतिशत प्रगति भएका योजना ७४ वटा छन् । आर्थिक वर्षको अन्त्यमा असारमा मात्र १७.१८ प्रतिशत बजेट खर्च भएको छ ।

पालिकाले ९७ लाख ८० हजार अबन्डा बजेट राखी त्यसबाट २१ लाख ४६ हजार खर्च गरेको भने छ लाख १८ हजार भैपरी आउने खर्च र अध्यक्ष तोक आदेशबाट नौ लाख खर्च भएको देखिएको छ । पालिकाले मध्यमकालीन खर्चको संरचना तयार पारेको छैन भने आयोजना बैंकसमेत खडा गरेको छैन ।

सुशासनका लागि नागरिक समाज कास्की अध्यक्ष रवीन्द्र बास्तोलाले स्थानीय सरकारहरु जिम्मेवार, पारदर्शी र जवाफदेही बन्न नसकेको बताउँछन् । “यसरी जथाभावी आर्थिक सहायता गर्नु, बिना योजना खर्च गर्नु, अनुत्पादक क्षेत्रमा खर्च गर्नु बजेटको दुरुपयोग हो,” उनले भने ।

रुपा गाउँपालिका अहिले आगामी आर्थिक वर्षको बजेटको तयारीमा छ । अध्यक्ष नवराज ओझाको रुपामा यो दोस्रो कार्यकाल हो । आर्थिक अनुशासन र सुशासनमा पालिका कमजोर सावित भएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।