
प्याब्सन कास्कीले शनिबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स मावि पोखरा–१५, कोलपाटन प्रथम भएको छ ।
माविस्तरीय प्रतियोगितामा रेन्बोका माल्लिका मल्ल, अमत्र्य खड्का र विश्वास रानाको समूह प्रथम ठहरिएको हो ।
प्रतियोगितामा शान्ति निकेतन माविका निश्चल कोइराला, अनुपम पराजुली र सफल शर्माको समूह दोस्रो हुँदा सन्देश तिवारी, सुप्रिम चापागाईँ र प्रतीक पौडेल रहेको वेस्ट प्वाइन्ट स्कुलको समूह तेस्रो बनेको छ । भाष्कर मेमोरियलका कीर्ति पाण्डे, उत्सव शर्मा र स्वस्तिका लामिछाने चौथो बने ।
विजयी समूहहरुलाई प्याब्सन नेपालका केन्द्रीयका उपाध्यक्ष वीरबहादुर बुढाथोकी, प्याब्सन केन्द्रीय सदस्य प्रेमप्रसाद शर्मा, कार्यक्रम संयोजक विष्णु जिसी लगायतले प्रमाणपत्र र ट्रफी प्रदान गरे । प्रतियोगितामा ५८ विद्यालय सहभागी थिए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बुढाथोकीले प्याब्सनले विद्यार्थीको आन्तरिक क्षमता प्रस्फुटनका लागि विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै त्यसमा कास्की शाखा अब्बल देखिएको जनाए ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु तिमिल्सिना, सचिव पुष्प पराजुली लगायतले बोलेका थिए । प्याब्सन कास्कीले वार्षिक रुपमा क्यालेन्डरमै राखेर आतिरिक्त क्रियाकलापहरु आयोजना गर्दै आएको छ ।