पोखरा महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा समृद्धि महिला समूह, सीतापाइला प्रथम भएको छ ।
महिलाको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि भएको हाजिरीजवाफमा वडाभरीका ३२ समूह सहभागी थिए । समृद्धिका मीना पौडेल, विद्या बराल र सुमित्रा तिवारीले प्रथम हुँदै नगद १० हजार र प्रमाणपत्र पाएका छन् ।
महानगरको वार्षिक कार्यक्रमअन्तर्गत भएको प्रतियोगितामा दोस्रो शेरा जागृति आमा समूह दोस्रो र तेस्रो संकल्प आमा समूह भएका छन् । शेरा जागृतिको समूहमा सरु केसी, सोचना सेन र सुजाता ढकाल थिए भने संकल्पको समूहबाट रक्षा पौडेल, शोभा सुवेदी र सविता वाग्ले टोलीमा थिए ।

नमुनाशील आमा समूह र घारीकुलो आमा समूह सान्त्वना भएका छन् । नमुनाशीलबाट सुशीला घिमिरे, सरस्वती रेग्मी र टुकु मल्ल र घारीकुलोबाट गीता गैरे, विमलादेवी पोख्रेल र दुर्गा पौडेल हाजिरीजवाफको टोलीमा थिए । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ८ हजार, ६ हजार र ३ हजारका साथमा प्रमाणपत्र पाएका छन् ।
विजयी समूहहरुलाई वडाध्यक्ष राधिका शाही योगी, वडा सदस्यहरु विष्णुमाया भुजेल, बिक्रम गुरुङ र तारा सेवाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोहमा वडाध्यक्ष योगीले गृहणी महिलालाई सशक्तीकरण गर्दै समृद्धिको यात्रामा लैजान यस खालका कार्यक्रम सहयोगी हुने बताइन् । उनले वडा कार्यालयले वडाका भौतिक निर्माण सँगसँगै मानवीय विकासमा पनि उत्तिकै ध्यान दिएको जनाइन् ।
कार्यक्रममा वडा सदस्यद्धय बिक्रम गुरुङ र विष्णुमाया भुजेल र वडा सचिव प्रमिला सुवेदीले वडाका विभिन्न गतिविधि र भावी योजनाबारे बोलेका थिए । प्रतियोगिता गर्न वडा कार्यालयका कर्मचारीहरु सर्मिला सुवेदी र तीर्सना बरालले सहजीकरण गरेका थिए ।






