भारतीयले सुुनको माला भनी ठगे, २ पक्राउ

सुनको भनी पहेंलो धातुको माला बेचेर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ ।

बुधबार प्रहरीले भारत उत्तर प्रदेश घर भएका वर्ष ७१ की प्रभादेवी र वर्ष ४२ का रामनारायण सुलेङीलाई पक्रेको हो । उनीहरुले बुधबार पौने २ बजेतिर पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकका एक व्यवसायीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिएर नगद चार लाख लिएका थिए ।

यसबारे सूचना आएपछि प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले पोखरबाट बुटवल जाने हाइसलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले प्रहरीले बुधबार ४ बजे उनीहरुलाई नगद तीन लाख ९० हजारसहित नियन्त्रण लिएको जनाए ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धी कसुरमा सात म्याद थप गरी अनुसन्धान भइरहेको छ ।