गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदनबाट विश्वासको मत पाएका छन् ।
पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी(नेसपा)का सांसद फणीन्द्र देवकोटाले मत दिएका हुन् ।
पाण्डेले ६० सदस्यीय गण्डकी प्रदेशसभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएका छन् । पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ ।
पाण्डे सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओवादी केन्द्रको चुनावचिह्नबाट निर्वाचि फणीन्द्र देवकोटाले संसदीय दलको ह्विप उल्लंघन गरी पाण्डेलाई मतदान गरेका छन् । माओवादी केन्द्रले उनलाई कारवाही गर्ने तयारी गरेको छ भने देवकोटा आफू माओवादीको सांसद नभएकाले आफूलाई माओवादीले कारवाही गर्न नमिल्ने बताउँछन् ।