साकुरा रोपेर सुरु गरियो सवा २ लाख विरुवा रोप्ने मेगा प्रोजेक्ट

पोखरा महानगरले बुधबार ग्रिन पोखरा, क्लिन पोखराको मेगा प्रोजेक्ट सुरु गरेको छ । मेयर धनराज आचार्यले साकुरा रोपेर पोखरामा दुई लाख २६ हजार बिरुवा रोप्ने मेगा प्रोजेक्ट सुरु भएको घोषणा गरेका हुन् ।

विश्व वातावरण दिवसको अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा रोपिएको छ । वसुन्धरा पार्कका २५ वटा र कोमागाने पार्कमा २३ वटा साकुराका विरुवा रोपिएको हो । पोखरा सय साकुराका विरुवा ल्याएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले विरुवा रोपेका हुन् । पोखरा र जापानको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क कोमागानेमा साकुरा लगाइएको हो ।

“साकुरा फुल्दा असाध्यै सुन्दर देखिन्छ । पोखरा–जापानको साइनोलाई थप मजबुत बनाउने सेतुका रूपमा पोखरामा साकुरा रोपिएको छ,” नगर प्रमुख आचार्यले भने । पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययनपश्चात् जापानबाट यो फूल ल्याइएको हो ।

महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुला चौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका दुई लाख २६ हजार बढी बिरुवा लगाउने महानगरको तयारी छ । प्रोफेसर शुमाले हिमालयको देश नेपालमा यसको विकास हुँदा साकुरा आफ्नो घर फर्किएको रूपमा लिनुपर्ने बताए ।

केही बिरुवाहरू रोप्न बाँकी रहेको र उपयुक्त स्थानमा ती बिरुवा लगाइने सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख भरतराज पौडेलले बताए ।