पोखरा २० वडा कार्यालय निर्माणमा बिबाद : स्थानीयबीच कुटाकुट

पोखरा महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भवन निर्माणका लागि आगामी एक हप्ताभित्र सबै जनतालाई पायक पर्ने स्थानको खोजि गर्ने सहमति भएको छ।

हाल निर्माणाधीन अवस्थामा रहेको भनिएको स्थानलाई अपायक रहेकाले सबै वडाबासीलाई पायक पर्ने स्थानमा वडा कार्यालय बनाइनुपर्ने भन्दै आन्दोलनरत आँटीघर(मौजाका जनतासंग पोखरा महानगरपालिकाद्वारा गठित सहजीकरण समितिले मंगलबार गरेको वार्तामा त्यस्तो सहमति भएको हो। मंगलबार दिउसो पोखरा ११ को वडा कार्यालयमा भएको दुई पक्षीय वार्तामा त्यस्तो सहमति भएको हो।

पोखरा महानगरपालिकाको प्रबक्ता समेत रहेका उक्त सहजीकरण समितिका संयोजक मोतीराज तिमिल्सिनाले उक्त वार्तामा एक हप्ताभित्र पोखरा २० का वडाबासी सबैलाई पायक पर्ने र प्राबिधिक दृष्टिले समेत उपयुक्त हुने स्थानको पहिचान गरिने र त्यतिन्जेल हाल निर्माणाधीन नयाँ भवन निर्माण गर्ने कार्य स्थगित गर्ने सहमति भएको जानकारी दिए।

त्यस सहमतिसंगै पोखरा महानगरपालिकाले आज भवन निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीलाई पत्र लेखेर तत्काललाई काम रोक्न निर्देशन दिने सहजीकरण समितिका संयोजक तिमिल्सिनाले जानकारी दिए। त्यसपछि आजैदेखि सबै वडाबासीलाई पायक पर्ने र प्राबिधिक दृष्टिले उपयुक्त हुने स्थानको पहिचान गर्ने काम शुरु हुने उनले बताए।

उक्त वार्तामा पोखरा २० का वडाध्यक्ष गंगाबहादुर केसी, असन्तुष्टि जनाउदै संघर्ष गरिरहेका संघर्ष समितिका सदस्यहरु र पोखरा महानगरपालिकाद्वारा गठित सहजीकरण समितिका ससस्यहरुको सहभागिता रहेको थियो। पोखरा २० को वडा कार्यालय निर्माणमा बिबाद उत्पन्न भए पछि सहजीकरण गर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनाको संयोजकत्वमा एक सहजीकरण समिति गठन गरेका छन्। उक्त सहजीकरण समितिका सदस्यहरुमा पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, १६ का वडाध्यक्ष अमृत्प्रसाद तिमिल्सिना र महानगरका इन्जिनियर नेत्रप्रसाद तिमिल्सिना सदस्य रहेका छन्।

यस अघि सोमबार दिउसो आफ्नो असन्तुष्टि पोख्न वडा कार्यालय पुगेका आँटीघर(मौजाका बासिन्दा र स्थानीयबीच झडप समेत भएको थियो भने प्रहरीले उक्त झडपमा संलग्न रहेको भन्दै आँटीघर(मौजाका १० जना युवालाई नियन्त्रणमा लिएको भए पनि साँझ अब आइन्दा त्यस्तो गतिबिधि नगर्ने शर्तमा छाडेको थियो। त्यस लगत्तै पोखरा महानगरपालिकाले गठन गरेको सहजीकरण समिति सक्रिय भएर मंगलबार वार्ता भएको थियो।