पोखरा महानगरबासी र महानगर हुँदै पृथ्वी राजमार्गबाट यात्रा गर्नेहरुले यो वर्षाभरि नै सकस व्यहोर्नुपर्ने भएको छ । अब कालोपत्रको काम वर्षा नसकिई नहुने भएको छ ।
एक सय ७४ किलोमिटरको पृथ्वी राजमार्गको करिब २० किलोमिटर कास्की क्षेत्रमा पर्छ । अहिलेसम्म चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । पोखरा—मुग्लिन सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले बिहीबार कालोपत्र सुरु गरी शुक्रबार लक्षित काम सकेको हो ।
सडक विभागले दिएको लक्ष्य पूरा भएको र अब वर्षापछि मात्रै कालोपत्र गरिने अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले जनाएको छ । कम्पनीका इन्जिनियर अनुप श्रेष्ठले भने, “अब शायद वर्षाअघि कालोपत्रको काम हुँदैन । अब विजयपुर क्षेत्रमा केही कटानको बाँकी काम गर्छाैं, अरु संरचना र वालहरु लगाइन्छ ।”
यो खण्डको प्रगति शुक्रबारसम्म २६.७ प्रतिशतमात्र छ । २०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सक्नुपर्ने सम्झौता छ । राजमार्गका बिजुलीका पोल र मापदण्डका घरहरु हटाउन बाँकी रहेको जनाउँदै इन्जिनियर श्रेष्ठले केही अवरोध रहे पनि वर्षापछि कामलाई तीव्रता दिइने जनाए ।
दिनदिनै पोखरामा वर्षा हुन थालेकाले अब कालोपत्र गर्न नमिल्ने र राजमार्गको अरु काम पनि प्रभावित हुने मुग्लिन—पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले उल्लेख गरे । बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरण समयमै नहुँदा पनि काम प्रभावित भएको पौडेलले जनाए ।
पोखरा महानगरबासी र महानगर हुँदै पृथ्वी राजमार्गबाट यात्रा गर्नेहरुले यो वर्षाभरि नै सकस व्यहोर्नुपर्ने भएको छ
राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेबल पुल बनिरहेका छन् । २०७८ जेठमा सात अर्ब ४० करोड ४६ लाख लागतमा पश्चिम खण्डको निर्माण ठेक्का अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको थियो ।
पृथ्वी राजमार्ग स्तरोन्नतिको पूर्वी खण्डमा ६० प्रतिशत काम भएको छ । जामुनेदेखि पोखरासम्मको ३९ किमीको पश्चिम खण्डमा केही ठाउँमा निर्माण कम्पनीले कालोपत्र गरेको छ । कोत्रेदेखि लामेआहाल, दुलेगौंडादेखि बेलचौतारासम्म, खैरेनीटार र जमुनाको केही क्षेत्रमा कालोपत्र गरिएको छ ।
सरकारले आगामी वर्ष देशमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा, चितवनको भरतपुर र रूपन्देहीको बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा भएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ राजमार्गको स्तरोन्नतिको काम ढिला हुँदा सर्वसाधारणसँग पर्यटन व्यवसायीले पनि ठूलो कष्ट व्यहोर्नुपरेको जनाउँछन् । “पोखरा आउने मुख्य राजमार्गमै ठाउँ ठाउँमा सकस हुने, दिनभरी लाग्ने अवस्थाले पर्यटक र सार्वसाधारणलाई कष्ट भएको छ,” उनले भने, “पर्यटन क्षेत्रले ठूलो नोक्सानी त व्यहोरेको छ नै, यस्तै ढिलाइ हुने हो भने सरकारले सञ्चालन गर्न लागेको गण्डकी आर्थिक त्रिभुज परियोजना पनि सफल हुन सक्दैन ।”




