पोखरा–२६, खरानेफाँट निवासी ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा यही जेठ ९ गते सगरमाथाको चौथो शिविर नजिकै ८ हजार २ सय ५ मिटर उचाइमा आइपुग्दा अचानक बिरामी भई दुखद निधन भएको थियो । बिनोदबाबुलाई शुक्रबार बिहान बिदाइ गरिएको छ ।
बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा ६ हजार १४५ मिटर अग्लो लोवुचे पिक आरोहण गर्नुभएको थियो । चाइनिज भाषामा राम्रो ज्ञान भएका बस्ताकोटी स्पेनिस र अङ्ग्रेजीमा पनि उत्तिकै प्रखर मानिनुहुन्थ्यो ।
आफ्नो मनले गरेको सङ्कल्पलाई डृढतापुर्वक सम्पन्न गर्ने स्वभावका बस्ताकोटी विगत १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।
पोखरा महानगरपालिकाको तर्फबाट अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा सभागृह परिसरमा राखिएको बस्ताकोटीको पार्थिव शरीरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्री, पोखरा महानगरपालिका वडा नं।२६ का वडा अध्यक्ष नरेन्द्र थापा, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, नगरसभासदस्यहरु, कर्मचारी, पर्यटन व्यवसायीहरू लगायतले राष्ट्रिय झण्डा, पोखरा महानगरपालिकाको झण्डा र पुष्प सहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नं।२६ ले वडा रत्न घोषणा गरेको छ । बस्ताकोटीको मरेखरे घाटमा आजै दाहसंस्कार गरिएको छ । उनको परिवारमा आमा, श्रीमती र छोरा छन् ।




