पोखराकी महिला उद्यमी मीना गुरुङ बुधबार राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार २०८१ बाट सम्मानित भएकी छन् ।
छैटौं राष्ट्रिय महिला अधिकार दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उनलाई सम्मान गरेकी हुन् ।
पुरस्कार राशि नगद १ लाख, सम्मानपत्र र दोसल्ला छ । हङकङ ब्युटी इन्स्टिच्युट प्रालि पोखरा ११ कास्कीकी सञ्चालक गुरुङलाई महिलालाई स्वरोजगार, उद्यमी र रोजगार बनाउन योगदान गरेकोमा पुरस्कृत गरिएको हो ।
साढे ३ दशकदेखि हङकङ ब्युटी इन्स्टिच्युट चलाउँदै आएकी गुरुङ गण्डकी प्रदेशसभाकी निवर्तमान सदस्यसमेत हुन् । समारोहमा कोशीबाट निर्मला चौहान, मधेसबाट बबिताकुमारी तेली, बागमतीबाट सरिता श्रेष्ठ भट्टराई र सुदूर पश्चिमबाट तारा देवललाई यो पुरस्कार प्रदान गरिएको छ ।
सम्मानित भएपछि गुरुङले राज्यले लामो योगदानको कदर गरी गरेको सम्मानले आफूहरुलाई ऊर्जा भरेको र समाजको अवश्यकता अनुसारको जनशक्ति उत्पादनमा पहल गर्नसमेत उत्प्रेरित गरेको जनाइन् । ‘महिलालाई सीप सिकाएर रोजगार, स्वरोजगार, उद्यमी बनाउँदै जीविकोपार्जनमा जोड्न यसले हामीलाई प्रेरणा दिएको छ,’ उनले भनिन् ।
प्रेरणा नेपालकी अध्यक्ष गुरुङ उद्यमी महिला संघ कास्की र राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको संस्थापक अध्यक्ष हुन् । विभिन्न सामाजिक संघ, संस्थामा सक्रिय उनी आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्दै छिन् ।