पाण्डे मुख्यमन्त्री नियुक्त, राप्रपा अहिले सरकारमा नजाने

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

बुधबार गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वाेच्चले परमादेश बमोजिम दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बनेको हो ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार पाण्डे नेतृत्वमा सरकार बनेको हो । उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले पाएको विश्वास मत अवैधानिक ठहर भएपछि गण्डकीमा नयाँ सरकार बनेको हो ।

गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दल हो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । सरकारमा राप्रपाको पनि समर्थन जुटाउने र राप्रपाबाट पनि मन्त्री नियुक्त गर्ने प्रयास भए पनि बुधबार राप्रपा सरकारमा सहभागी नहुने भएको छ ।

राप्रपा सांसद पञ्चराम गुरुङले सरकारबारे पार्टी केन्द्रले निर्णय लिने बताए । यसअघि केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्रीबाट पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए । दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेले असार १३ गतेभित्रै विश्वासको मत लिनैपर्छ ।