४८ घन्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । उनले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गरेको हो ।

अदालतले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले पाएको ३० मत बहुमत नभएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला गरेको हो । अब नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्ने छन् ।

‘मुख्यमन्त्री माननीय खगराज अधिकारीले पेश गर्नुभएको विश्वासको मत बहुमतले पास भएको भनी गण्डकी प्रदेशसभाका सभामुखबाट मिति २०८१ वैशाख २३ गते भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरिदिएको छ,” आदेशमा भनिएको छ, “प्रस्तुत आदेश प्राप्त भएको ४८ घन्टाभित्र नेपालको संविधानको धारा १६८को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मुख्यमन्त्री नियुक्तिको कार्य सम्पन्न गर्नू भनी प्रत्यर्थी गण्डकी प्रदेशका प्रदेश प्रमुखसमेतका नाउँमा परमोशको आदेश जारी गरिदिएको छ ।”

वैशाख २३ गते सभामुख कृष्ण धितालले नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदको समर्थन पाएका अधिकारीको पक्षमा बहुमत पुगेको घोषणा गरेका थिए । अधिकारीले पाएको विश्वासको मतविरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे अदालत गएका हुन् ।

पाण्डे नेतृत्वमा सरकार बने पनि त्यसले विश्वासको मत पाउने अंकगणित छैन ।
प्रदेशसभामा २७ सिट रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसलाई बहुमत पु¥याउन राप्रपाका २ सांसद र एक स्वतन्त्र सांसदको समर्थनले पनि पुग्दैन । त्यसो हुँदा पाण्डेको पक्षमा ३० सांसद हुने देखिन्छ । बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।