
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गरेको छ । ६० सदस्यीय प्रदेशसभामा उनले ३० मत पाउँदा विश्वासको मत पाएको घोषणा भएको थियो ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीले पद गुमाएका छन् ।
अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
वैशाख २३ गते सभामुख कृष्ण धितालले नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात, स्वतन्त्र एक गरी ३० सांसदको समर्थन पाएका अधिकारीको पक्षमा बहुमत पुगेको घोषणा गरेका थिए । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले पाएको विश्वासको मतविरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे अदालत गएका थिए ।
गण्डकी प्रदेशसभामा २७ सिट रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसलाई बहुमत पु¥याउन राप्रपा र एक स्वतन्त्र सांसदको समर्थनले पनि पुग्दैन । राप्रपा र स्वतन्त्रको समर्थन पाउँदा पाण्डेको पक्षमा ३० सांसद हुने देखिन्छ । पाण्डे नेतृत्वमा सरकार बनेमा पनि त्यसले विश्वासको मत पाउने अवस्था छैन ।