पोखरा महानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधिले पदस्थापना दिवसको अवसरमा शुक्रबार विभिन्न ठाउँमा सहयोग गरेका छन् । पोखरा १७ का जनप्रतिनिधिहरुले दुई वर्षअघि वैशाख १२ गते पदस्थापन गरेका थिए ।
पोखरा वृद्धाश्रम, मानव सेवा आश्रम लगायत वडामा रहेका मस्तिष्क पक्षघात भएकाहरुलाई उनीहरुले सहायता सामग्री प्रदान गरेका हुन् । वडाध्यक्ष राधिकाकुमारी शाही योगी, वडा सदस्यहरु शिवराम भण्डारी, तारा सेवा, विष्णुकुमारी थापा र विक्रम गुरुङ, वडा सचिव प्रमिला सुवेदी, लेखापाल युवराज पौडेल लगायतले ती स्थानमा पुगी सहायता सामग्री हस्तान्तरण गरे ।
उनीहरुले पोखरा १७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा युरोगार्डसहितका सामग्री प्रदान गरेको छ । अहिले ५४ जना ज्येष्ठ नागरिक आश्रित यो आश्रमलाई आवश्यकता बमोजिमका सहयोग वडाको तर्फबाट गर्दै जाने अध्यक्ष शाहीले जनाइन् ।
उनीहरुले वडाभित्रका मस्तिष्क घात भएका ६ जनालाई सहायता सामग्रीसमेत दिएका छन् । पोखरा १७ को छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई आवश्यक सरसफाइ सामग्रीहरु उनीहरुले प्रदान गरे ।
नागरिकलाई सबैभन्दा नजिकको सरकारको आभास दिलाउँदै वडाको विकासमा योजनावद्ध तवरले आफ्नो टिम लागेको अध्यक्ष शाहीले जनाइन् ।