कोमलनाथ र मन्जिमालाई पुरस्कार

यस वर्षको ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार कोमलनाथ बराल र ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार मन्जिमा ढकाललाई प्रदान गरिने भएको छ ।

‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक युवनाथ लम्साल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का र पत्रकार दीपेन्द्र रावलको निर्णायक मण्डलले राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बराललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

पोखरा २६ का बासिन्दा कोमलनाथले २०५६ बाट पत्रकारिता सुरुआत गरेका थिए । जनादेश साप्ताहिकका पूर्वसम्पादक बराल राससको २ कार्यकाल अध्यक्ष बनेका थिए । उनी अहिले प्रेस सेन्टर नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार छन् ।

बरालले कृष्ण सेन ‘इच्छुक’सँग जनादेशमा सँगै कामसमेत गरेका थिए । यस वर्षको ‘बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार’ उनले ढकाल प्रेस सन्टर नेपालको गोरखापत्र शाखा अध्यक्ष र सञ्चारिका समूह नेपालको केन्द्रीय सदस्य छिन् ।
उनका बुबा राजेन्द्रलाई २०५५ मा राज्य पक्षले बेपत्ता पारेको थियो ।

‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार धमेन्द्र कर्णलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार र समयबोध साप्ताहिकका सम्पादक ५७ वर्षीय कर्णले २०३६ देखि पत्रकारिता सुरू गरेका थिए । पुरस्कार प्रेस सेन्टर नेपालको स्थापना दिवसमा आगामी माघ १५ गते प्रदान गरिनेछ । सबै पुरस्कारको राशि जनही २५ हजार र सम्मानपत्र छ ।